काठमाडौं । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष वि.सं. २०८१-०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो ।
एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष वि.सं. २०८१-०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अंक प्राप्त गरेको थियो ।
गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेले कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता, समयमै सेवा प्रदान गर्ने अभ्यास, दक्ष जनशक्ति परिचालन तथा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका छन् । बागलुङ २४, म्याग्दी ३२ नम्बरमा परेको छ भने सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ । पाँचथरको ७३ दशमलव ८२ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय