दिनेश थापा 

 

पाँचपोखरी थाङपाल गाउँपालिका र जुगल गाउँपालिकाको सीमानामा पर्ने ‘पाँचपोखरी’ यतिबेला पर्यटकको रोजाईमा परेको छ । काठमाडौंबाट करिब ९३ किलोमिटर दुरीमा रहेको पाँचपोखरी सिन्धुपाल्चोक जिल्लामा पर्दछ । धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी समुन्द्र सतहदेखि करिब ४२०० मिटरको उचाईमा रहेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका–३ र जुगल गाउँपालिका–२ नम्बर वडाको सीमानामा ‘पाँचपोखरी’ पर्दछ । यहाँ वर्षमा कम्तिमा ११ हजारदेखि बढीमा २० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । पाँचपोखरी थाङपाल गाउँपालिकाको देउरालीबाट करिब १५ घण्टाको पैदल यात्रा गर्दै दुई रातको बसाईपछि मात्र पाँचपोखरी पुग्न सकिन्छ ।

हजारौं खर्च गरेर पर्यटकहरु पाँचपोखरी पुग्छन् । देउरालीबाट पैदल यात्रा गर्दै पाँचपाखेरीसम्म पुग्दा न कुनै चेकपोष्ट छ न कुनै सुरक्षाको व्यवस्था नै । यदी बाटोमा हिड्दा कुनै घटना भएमा पर्यटकले आफ्नो सुरक्षा आफैले गर्नुपर्ने हुन्छ । यहाँको समस्या यतिमा मात्र सिमित छैन ।

१. साइन बोर्डको समस्या
२. टेलिफोनको समस्या
३. विजुलीको समस्या
४. खानेपानीको समस्या
५. सामान्य उपचारको समस्या

राजधानीसँग जोडिएको सिन्धुपाल्चोक जिल्लाको देउरालीबाट पाँचपोखरीसम्म पुग्दा पर्यटकहरुले माथि उल्लेखित यस्ता समस्याबाट गुज्रर्नुपर्छ । पाँचपोखरी थाङपाल गाउँपालिका–३ का स्थानीय सार्की शेर्पाले ournewscrew.com सँग कुराकानी गर्दै स्थानीय निकाय नाममात्रको भएको र आफुहरुले स्थानीय सरकार छ भन्ने महसुस गर्न नसकेको बताउँछन् ।

नेपालको आर्थिकोपार्जन र नेपालीको आर्थिक अवस्था सुधारको लागि भन्दै नेपाल सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राख्दै आएको र वर्षेनी करोडौंको बजेट छुट्टाउँदै आएको छ । पर्यटकहरु पाँचपोखरी हेर्नकै लागि भन्दै वर्षमा हजारौं पुग्छन्, तर, पर्यटकहरु त्यहाँसम्म पुग्न निकै कष्टपूर्ण यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्दाको क्रममा बाटोको ठाउँठाउँमा साइन बोर्ड देख्न सकिन्छ । बोर्डमा पाँचपोखरी संरक्षण क्षेत्र विकास समिति भनि लेखिएको मात्र देखिन्छ । तर, यो समितिमा बस्ने पदाधिकारीहरुले आफ्नो काम, कर्तव्य विर्सिदा समितिको नाम नै बदनाम हुन पुगेको छ । बाटोमा राखिएका अधिकांश साईन बोर्डका अक्षर मेटिएका, भाँचिएका छन् त कतै कुच्चिएर खिया परेको छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जले आन्तरिक पर्यटकसँग प्रतिव्यक्ति १ सय रुपैयाँ उठाउँदै आएको छ भने बाह्य पर्यटकसँग ३ हजार रुपैयाँ उठाउने गर्छ । निकुञ्जसम्म पुग्दा बाटोमा ४ वटा साइनबोर्ड देखिन्छ, ती सबै साइन बोर्ड जीर्ण अवस्थामा छ । निकुञ्जले वर्षमा लाखौं रुपैयाँ उठाउँछ । निकुञ्जले आफ्नो कार्यालय अगाडीसम्म पनि सेतो कागजमा टिकट काउन्टर भनि हातैले लेखेर टाँसेको छ । यसो हेर्दा लाग्छ पैसा उठानकै लागि मात्र निकुञ्जको ध्यान गएको देखिन्छ ।

यस्तै यस क्षेत्रमा बाटो मात्र नभई टेलिफोनको सेवासम्म पुग्न सकेको छैन । सरकारको ध्यान केन्द्रमा मात्र सिमित हुँदा काठमाडौंसँगै जोडिएको जिल्लामा सिन्धुपाल्चोकमा टेलिफोनको टावर मात्र नभई बिजुलीको पोलसम्म पनि पुग्न सकेको छैन । यहाँका स्थानीयले विजुलीको सट्टा शौर्य सोलारको प्रयोग गर्दै आएका छन् । साथै यहाँ खानेपानीको समस्या पनि उत्तिकै छ । यस्ता समस्या समाधानको लागि जति पहल गर्दा पनि तीनै तहको सरकारले स्थानीयको समस्या कहिल्यै नसुनेको स्थानीय बताउँछन् ।

स्थानीय सार्की भन्छन् ‘सरकारले आफुहरुको समस्यामा कुनै चासो नदेखाएको, टेलिफोन र बिजुली आफ्नो क्षमता भन्दा बाहिर भएकोले गाउँमा त्यसको लागि केही गर्न नसकेको तर, स्थानीय आफु–आफु नै मिलेर खानेपानीको सामान्य समस्या हल गरेको बताउँछन् । उनीहरुले हरेक पाँच पाँच वर्षमा नेताहरु आफ्नो घर आँगन आउने, यो गर्छु र त्यो गर्छु भन्ने र चुनाव जितेपछि फर्केरसम्म नआउने समस्या समाधान त कता हो कता भन्दै नेताहरुले आफुहरुलाई सधै भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आएकोमा दुखेसो पोख्छन् । साथै उनले यहाँका स्थानीयको बाँच्ने आधार नै पर्यटक भएकोले पाँचपोखरी र जुगल हिमाल जानको लागि यही बाटो हुँदै जानु पर्ने हुँदा स्थानीय निकायले पर्यटकहरुको लागि सामान्य भन्दा सामान्य स्वास्थ्य सेवा पनि उपलब्ध नगराउँदा पर्यटकहरुले दैनिक समस्या भोग्नु परेको बताउँछन् ।’

प्राकृतिक सम्पदाले भरिपूर्ण पाँच पोखरी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको धार्मिक तथा सांस्कृतिक संगमस्थल भनेर चिनिन्छ । पाँचपाखेरी इन्द्रावती नदीको उद्गमस्थलमा सूर्य कुण्ड, नाग कुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड र गणेश कुण्डको अवलोकन गर्न सकिन्छ । पर्यटकहरुले त्यहाँ ४ वटा पोखरीको नाम उल्लेख गरिएको साइनबोर्ड देख्न सक्छन् भने अर्को कुण्ड गणेश कुण्ड भनि चिनिने कुनै पनि संकेत उल्लेख गरेको पाइँदैन । पर्यटकहरुले कसरी बुझ्ने यो गणेश कुण्ड नै हो भनेर ?

वडाले वर्षैपिच्छे जनैपूर्णिमामा लाखौं रुपैयाँ उठाउँछ । जनैपूर्णिमाको दिन हजारौं भक्तजनहरु पाँचपोखरी पुग्छन् । पर्यटकहरुलाई खान र बस्न सुविधा होस् भन्ने हेतुले पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर–३ ले स्थानीयलाई व्यवसाय गर्न सार्वजनिक ठाउँको व्यवस्थापन गर्ने गरेको छ । स्थानीयले ठाउँ प्रयोग गरेबापत प्रतिटेण्ट ५ हजार देखि १० हजार रुपैयाँसम्म उठाउँदै आएको छ । धार्मिक स्थलको नाममा वर्षेनी लाखौं रुपैयाँ उठाउँदै आएपनि वडाले न बाटोमा राखिएका साइनबोर्ड फेर्छ, न गणेश कुण्डमा एउटा साइनबोर्डसम्म नै राख्छ । यस्तो सामान्य विषयमा त स्थानीय निकायको ध्यान जाँदैन भने स्थानीय र पर्यटकको सुविधाको त परको कुरा ।

यस्तै सँगै जोडिएको अर्को पालिका जुगल गाउँपालिकाको कथा पनि उस्तै छ । ‘जुगल गाउँपालिका वडा नम्बर २ का एक स्थानीयले पाँचपोखरी हुँदै जुगल हिमाल पुग्ने बाटो रहेपनि बाटोको अवस्था जीर्ण रहेकोले पर्यटकहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’ जुगल हिमाल पुग्नको लागि स्थानीयले अस्थायी पुल निर्माण गरेका छन् । अस्थायी पुल लामो समय नटिक्दा सधै समस्या झेल्नु परेकोले स्थायी पुल निर्माणको लागि स्थानीय केन्द्र, प्रदेश र स्थानीय निकाय धाउँछन् । स्थानीयको समस्या कसैले नसुन्दा स्थानीय मात्र होइन पर्यटहरुले समेत सधै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । स्थानीय भन्छन्, ‘गाउँपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा आन्तरिक तथा बाह्य पर्यटकको यस क्षेत्रलाई हेर्ने दृष्टिकोण नै फरक बन्दै गएकोमा चिन्ता व्यक्त गर्छन् ।’

पाँचपोखरी थाङपाल गाउँपालिका र जुगल गाउँपालिका भित्रका ४ वटा वडा मिलेर गोठालो समिति बनाइएको छ । त्यस्तै पाँचपोखरी संरक्षणकै लागि भनि पाँचपोखरी संरक्षण क्षेत्र विकास समिति र पाँचपोखरी भोताङ सुधार समिति छ । यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जले पनि आफ्नो क्षेत्रमा पर्ने ठाउँमा सानो भन्दा सानो काम पनि गरेको देखिदैन । पाँचपोखरी र जुगल हिमाल हेर्न आउने पर्यटकसँग पैसा मात्र उठाउने बाहेक उसको अरु केही काम देखिदैन । यहाँ सबैको ध्यान केवल पर्यटकहरुबाट पैसा कसरी असुली गर्न सकिन्छ भन्ने बाहेक पर्यटकहरुको सहजता, सेवासुविधाको बारेमा मैले गर्नुपर्छ भन्ने ध्यान कसैमा गएको पाइँदैन । जनताले तिरेको करबाट सरकारी तलव खाने तर जनताको अपेक्षा अनुसार काम नगर्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई त्यहाँका जनताले हेर्ने नजर दिनप्रतिदिन फरक बन्दै गएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय