काठमाडौं । तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१÷०८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्याधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो ।



उहाँले कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् । दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनीलगायत सागमा कैफियत पाइएको छ । एउटा बोडीको नमुनामा विषादीको मात्रा फेला परेको छ । चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एउटा नमुनामा कैफियत देखिएको थियो । दशवटै नमुना परीक्षण गर्दा रेडलेबल (उपभोग गर्न नमिल्ने) पाइएको छ ।
प्रयोगशालामा भारतबाट आयातीत ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका एक, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका दुई, रुपन्देहीका एक र दाङका ७६ नमुना परीक्षण गरिएको थियो ।
अघिल्लो आर्थिक वर्षमाभन्दा गत आर्थिक वर्षमा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना बढीमात्रामा परीक्षण भएसँगै विषादी पाइने संख्यामा पनि वृद्धि भएको चौधरीको भनाइ छ । उहाँले नेपालगञ्जस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आवमा एक हजार ८ सय ८३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण हुँदा १० वटा नमुनामा कैफियत पाइएको हो । त्यसैगरी अघिल्लो आवमा एक हजार ९४ नमुना परीक्षण हुँदा सात वटामा कैफियत पाइएको थियो ।
चालु आवको साउनदेखि हालसम्म ४८२ वटा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ । उक्त नमुनामा कुनै पनि कैफियत नपाइएको चौधरी बताउँछन् ।
प्रयोगशालामा आव २०८०÷०८१ मा एक हजार ९४ नमुना परीक्षण हुँदा तीन वटा ‘यल्लो’ र चार वटा ‘रेडलेबल’ गरी सात नमुनामा कैफियत पाइएकामा आव २०७९÷८० मा एक हजार ८५ नमुना परीक्षण हुँदा छ वटा यल्लो र १० वटा रेडलेबल गरी १६ नमुनामा कैफियत देखिएको थियो । गत आवमा नमुना परीक्षणको सङ्ख्या वृद्धि भएसँगै कैफियत पाइने सङ्ख्यामा पनि वृद्धि भएको हो ।
नायब प्राविधिक सहायक चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ । नेपालगञ्जबाट विसं २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमुना परीक्षण सुरु गरिएको हो ।



