काठमाडौं । देशभर प्रतिकूल मौसमका कारण आज आन्तरिक र अन्तर्राष्ट्रिय दुबै हवाई उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडानहरू ‘इनरुट वेदर’ बिग्रिएपछि अवरुद्ध भएका हुन्।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार मौसम खराबीका कारण केही आन्तरिक उडान ‘डाइभर्ट’ भएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ। पोखरा विमानस्थलमा आगमन रोकिएको भए पनि ‘डिपार्चर’ मात्र खुलेको उनले जानकारी दिए।

विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान विराटनगरमै डाइभर्ट गरिएको छ भने भैरहवाबाट काठमाडौं आउँदै गरेको सोही कम्पनीको विमान पनि भैरहवा फर्काइएको छ।

अन्तर्राष्ट्रिय उडानहरूमा पनि असर परेको छ। प्रवक्ता शेर्पाका अनुसार नेपाल एयरलाइन्स र इण्डिगो एयरका विमान नयाँदिल्ली डाइभर्ट भएका छन् भने एयर इण्डियाको विमान लखनऊ पठाइएको छ। हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको दृश्यता (भिजिबिलिटी) २,५०० मिटररहेको बताइएको छ।

विमानस्थल कार्यालयका अनुसार ‘इनरुट वेदर’ अर्थात् उडान मार्गको मौसम खराब हुँदा आन्तरिक उडानहरू सञ्चालनमा समस्या भएको हो।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी कमजोर हुँदै उत्तर–पश्चिम दिशातर्फ सरेको छ। उक्त प्रणाली अहिले नेपालको मध्य भू–भाग नजिकै न्यून चापीय क्षेत्रको रूपमा सरेर पूर्वतर्फ सरिरहेको जनाइएको छ।

महाशाखाका अनुसार आजदेखि कात्तिक १५ गतेसम्म बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुनेछ। ती प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सर्तकता अपनाउन सबैलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय