काठमाडौं । भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटमा सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ ।

हिजो बिहान करिब २ बजेतिर उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको थियो । घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् ।

अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनका ३२ वर्षीया श्रीमती टीका, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि मृत्यु भएको वडा सदस्य लक्ष्मी विकले जानकारी दिनुभयो ।
विकका अनुसार दुबै परिवार दुई वर्षदेखि रोजगारीका लागि भारतमा मजदुरी गर्दै आएका थिए । हालसम्म पाँच जनाको शव फेला परिसकेको छ भने बाँकीको खोजी कार्य जारी रहेको जनाइएको छ । एकै गाउँका ९ जनाको मृत्युभएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ शोकमा डुबेको छ ।

वडा अध्यक्ष मेकराज बुढाथोकीका अनुसार घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार वडास्तरीय शोक सभा आयोजना गरिनेछ । साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा शोक बिदा दिने निर्णयसमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय