काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको तीन दिने तालिम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रम महिला र यूवालाई लक्षित गर्दै न्यायिक समिति, कानून सम्बन्धी तालिम दिइएको हो ।



पुस २८ गतेदेखि ३० गतेसम्म संचालन गरिएको तालिममा चन्द्रागिरि नगरपालिकाको १५ वटै वडाका महिला समूह र यूवा गरेर प्रत्येक वडाका १०–१० जनाको दरले तालिम दिइएको थियो । तीन दिनसम्म संचालन भएको तालिममा पहिलो दिन १ देखि ५ वडा, दोस्रो दिन ५ देखि १० वडा र तेस्रो दिन १० देखि १५ वडाका गरेर १५० जनालाई तालिम दिइएको थियो ।
कार्यक्रममा न्यायिक समितिका संयोजक तथा उपप्रमुख बसन्ती श्रेष्ठले वडामा भएका समस्या र विवादलाई नगरबाट बाहिर नगई वडा र नगरबाटै हल गर्ने उद्देश्यले यस्तो प्रकारको कार्यक्रम राखिएको बताउनु भयो । उहाँले अहिले पनि नगरबासीलाई नगरमा न्यायिक समिति छ भन्नेमा धेरैलाई थाहा नहुँदा आफ्नो मुद्दा लिएर बाहिर जाँदा नगरबासीले ठूलो खर्चको सामना गर्नुपरेको बताउनु भयो । उहाँले आफुहरुको समस्या डाक्टर र वकिलकोमा पुगेर कहिल्यै पनि ढाट्न नहुने र आफुले यहाँ सिकेका विषयलाई टोल छिमेक र साथीहरुलाई बुझाएर वडा र नगरलाई विवादरहित र मितव्यायी ढंगले समाधान गर्नतर्फ लाग्न पनि आग्रह गर्नुभयो ।
चन्द्रागिरि नगरपालिकाको कानूनी शाखाका कानूनी सल्लाहकार संजिव आचार्य अहिले प्रत्येक घरघरमा कानूनी जटिलता देखिएको र त्यसको विषयमा जानकार नहुँदा नगरबासीले ठूलो समस्या व्यहोर्नुपरेको पनि बताउनु भयो । उहाँले घरको झगडा बाहिर ल्याउँदा कसैलाई फाइदा नहुने तर वकिलहरुलाई मात्र फाइदा हुने हुँदा घरको समस्या घरमै सुल्झाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा न्यायिक समितिका सदस्य रत्नलाल श्रेष्ठ, सीता मण्डल, प्रशिक्षक अधिवक्ता तथा मेलमिलाप अभियान्ता उद्धबप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।



