काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका पदाधिकारीहरू निर्वाचन आयोग पुगेपछि मुख्य गेट बन्द गरिएको छ। आज आयोगमा विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू एकैसाथ उपस्थित भएका थिए। दुवै पक्षका समर्थकहरूको भीड बढेपछि आयोगले सुरक्षा कारण देखाउँदै मुख्य गेट बन्द गरेको हो।



प्रहरी परिचालन गरेर भीड नियन्त्रणमा राखिएको छ। आयोगले भिड नियन्त्रण र प्रवेश व्यवस्थापनका लागि गेट बन्द गर्ने नियम लागु गरेको जनाएको छ। त्यहाँ उपस्थित स्रोतका अनुसार, दुबै पक्षका नेताहरूले आयोगभित्र प्रवेशको प्रयास गर्दा सुरक्षा कारणले प्रवेश रोकिएको हो। निर्वाचन आयोगले यसअघि पनि भिड बढ्ने अवस्थामा प्रवेश नियन्त्रण गर्न गेट बन्द गर्ने प्रचलन अपनाउँदै आएको छ। आयोगले मतदाता र राजनीतिक दललाई शान्तिपूर्ण तथा व्यवस्थित व्यवहार गर्न अनुरोध गरेको छ। आजको घटनापछि दुवै पक्षले संयम अपनाउन आग्रह गरिएको छ । आयोगले आवश्यक परे थप सुरक्षा व्यवस्था गर्ने तयारी गरेको पनि बताइएको छ।



