बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझ ७ बजेसम्म उपलब्ध गराएको विवरणअनुसार बारा–१, २, ३ र ४ निर्वाचन क्षेत्रमा जम्मा १ सय १२ जनाले मनोनयन दर्ता गरिसकेका छन् । निर्वाचन क्षेत्रगत विवरणअनुसार सबैभन्दा बढी उम्मेदवारी बारा–४ मा परेको छ, जहाँ ३९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसपछि बारा–२ मा २९, बारा–३ मा २४ र बारा–१ मा २० जनाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
यसपटकको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूको सक्रिय उपस्थिति देखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय मुक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन् । साथै विभिन्न सामाजिक अभियन्ता, पूर्वराजनीतिक कार्यकर्ता र स्थानीय व्यक्तिहरू स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारको संख्या बढेसँगै मत विभाजनको सम्भावना पनि बढ्दै गएको छ, जसले निर्वाचन परिणामलाई अझ अनिश्चित र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।



मुख्य निर्वाचन अधिकृतका अनुसार मनोनयन दर्तापछि उम्मेदवारको योग्यताको जाँच प्रक्रिया सुरु हुनेछ । उजुरी परेमा छानबिन गरिनेछ भने उम्मेदवारी फिर्ता लिने म्याद पूरा भएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ ।बाराका चारै निर्वाचन क्षेत्रमा निवर्तमान सांसदले पनि पुनः उम्मेदवारी दर्ता गरिसकेका छन् । बारा–१, ३ र ४ का निवर्तमान सांसद सबै एमालेका उम्मेदवार रहेका छन् । यसबाहेक, जिल्ला बाहिरका उम्मेदवार पनि मैदानमा रहेका छन् । पर्साबाट प्रदेश सांसद रहबर अन्सारीले बारा–४ बाट रास्वपा मार्फत उम्मेदवारी दर्ता गरेका छन् भने नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले पनि बारा–४ बाट उम्मेदवारी दर्ता गरिसकेका छन् ।
उक्त तथ्यहरूले बाराको चारै निर्वाचन क्षेत्रमा यसपटक रोचक र प्रतिस्पर्धात्मक प्रतिनिधिसभा निर्वाचन हुने संकेत गरेको छ ।



