काठमाडौं । रुकुम पूर्वमा परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि यस मार्गबाट चल्ने सवारीसाधन गन्तव्यतर्फ जान सकेका छैनन् ।

काठमाडौँबाट छुटेका केही यात्रुवाहक बसहरू बाटोमै रोकिएका छन् । फसेका यात्रुहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुलाउन कठिनाइ भइरहेको छ ।

प्रशासनले यात्रु तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ लैजाने प्रयास गरिरहेको छ । साथै, भूमे गाउँपालिकासँग समन्वय गरी स्काभेटरमार्फत हिउँ हटाएर सडक खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ ।

जिल्लाको हिमाली र उच्च पहाडी क्षेत्रमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको छ । चिसोका कारण जनजीवन प्रभावित भए पनि लामो समयपछि परेको वर्षा र हिमपातले गहुँ बालीलगायत खेतीपातीलाई फाइदा पुगेको किसानहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय