काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० को निर्वाचन परिचालन समिति गठन कार्यक्रम भव्य रूपमा भइरहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १० बाट अत्यन्त सशक्त व्यक्तित्व तथा स्थापित मजदुर नेता बिनोद श्रेष्ठलाई नेकपा एमालेले उम्मेद्वारको रूपमा अघि सारेसँगै कार्यकर्तामा उत्साहित देखिन्छन् । उम्मेद्वार घोषणा सँगै निर्वाचन परिचालन समितिले क्षेत्रगत संगठन सुदृढीकरण, जनसम्पर्क अभियान र राजनीतिक कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील र गम्भीर मोडमा पुगेको बताएका छन् । उनीहरूले यसपटकको निर्वाचन सामान्य सत्ता प्रतिस्पर्धा मात्र नभई मुलुकको स्वाधीनता, राष्ट्रिय हित र श्रमिक वर्गको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेका छन् ।

कार्यक्रममा उम्मेद्वार बिनोद श्रेष्ठको परिचय गराउँदै नेताहरूले उहाँ लामो समयदेखि मजदुर आन्दोलनमा सक्रिय रहँदै श्रमिक वर्गका हक–अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे । श्रमिक, किसान र उत्पीडित वर्गको पक्षमा दृढतापूर्वक उभिने नेताका रूपमा परिचित श्रेष्ठको उम्मेद्वारीले काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा नयाँ राजनीतिक ऊर्जा थपिने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले उम्मेद्वार घोषणा तथा परिचालन समिति गठन कार्यक्रम समयसापेक्ष र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन् ।

निर्वाचन परिचालन समितिले आगामी दिनमा घरदैलो अभियान, टोलस्तरीय भेला, राजनीतिक प्रशिक्षण, जनसंवाद तथा संगठन विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ । पार्टी नेतृत्वले काठमाडौं निर्वाचन क्षेत्र नं. १० लाई श्रमिक–मैत्री, जनमुखी र वैकल्पिक राजनीतिको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

कार्यक्रमले काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक तयारीलाई थप मजबुत बनाएको विश्लेषकहरूको भनाइ छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय