काठमाडौं । स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ५६ वटा मतदानस्थललाई अति संवेदनशील घोषणा गरिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मतदानस्थललाई तीन वर्गमा विभाजन गरी केन्द्रमा सिफारिस गरिएको हो।

जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लाका कुल १९९ मतदानस्थलमध्ये ७२ वटा सामान्य, ७१ वटा संवेदनशील र ५६ वटा अति संवेदनशील श्रेणीमा राखिएका छन्। सडक तथा यातायातको पहुँच, भौगोलिक अवस्था, सञ्चार सुविधा, सुरक्षाको स्थिति र विगतका निर्वाचनमा देखिएका गतिविधिलाई आधार मानेर वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार मतदानस्थलको संवेदनशीलताका आधारमा फरक–फरक सुरक्षा रणनीति तयार पारिने छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सक्रिय राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रतिबद्धता जनाएका छन्।

यसैबीच, सुरक्षा योजना प्रभावकारी बनाउन जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति तथा निर्वाचन अधिकृत सम्मिलित संयुक्त टोलीले जिल्लाका विभिन्न मतदानस्थलमा स्थलगत अनुगमन र अध्ययन गरिरहेको छ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जा जिल्लामा यसपटक १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र कायम गरिएको छ। अघिल्लो निर्वाचनको तुलनामा यस पटक दुई मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।

मतदाता संख्याको कुरा गर्दा विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका २ लाख ४८ हजार ८१६ जनाले मतदान गर्न पाउने छन्। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ। महिला मतदाता पुरुषभन्दा ३ हजार ८८७ जना बढी छन्।

निर्वाचन क्षेत्रगत रूपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८८६ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९३० मतदाता दर्ता भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय