काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको आगजनीपछि संसद् बैठक बस्ने स्थान अभाव भएपछि सरकारले सिंहदरबारभित्रै नयाँ बैठक हल तयार गर्ने काम तीव्र बनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आउने नयाँ सांसदहरूका लागि बैठक बस्ने स्थान सुनिश्चित गर्न सहरी विकास मन्त्रालयले एक महिनाभित्र हल तयार गर्ने लक्ष्यसहित काम अघि बढाएको छ । मन्त्रालयका अनुसार हाल दुई सिफ्टमा निर्माण कार्य भइरहेको छ ।

अधिकारीहरूले संरचनागत काम सम्पन्न भइसकेको र भित्री सजावट, विद्युतीय प्रणाली, वातानुकूलन, फर्निचर तथा सञ्चार उपकरण जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । प्रतिनिधिसभाका २७५ सदस्य, राष्ट्रिय सभाका ५९ सदस्य, कर्मचारी, सञ्चारकर्मी र आगन्तुक अट्ने क्षमताको हल पहिला सञ्चालनमा ल्याइने र बाँकी काम क्रमशः सम्पन्न गरिनेछ ।

नयाँ हलमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठक बस्न सक्ने व्यवस्था समेत गरिएको छ । हाल राष्ट्रिय सभाको बैठक सिंहदरबारकै मर्मत गरिएको एक हलमा सञ्चालन हुँदै आएको छ ।
संविधानअनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेकाले चैत मसान्तभित्र बैठक बस्ने तयारी सरकारको छ । यही समयसीमालाई ध्यानमा राखेर नयाँ हल समयमै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

दीर्घकालीन रूपमा निर्माणाधीन नयाँ संसद् भवन भने आगामी असारसम्म मात्र पूर्ण हुने अनुमान गरिएको छ । सुरक्षा, प्राविधिक सुविधा र लागतका कारण वैकल्पिक हल भाडामा लिनुभन्दा सिंहदरबारभित्रै नयाँ हललाई प्राथमिकता दिइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय