काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले नयाँ भनिएका राजनीतिक दल र शक्तिमाथि गम्भीर प्रश्न उठाएका छन् । एक अन्तरवार्तामा संयोजक दाहालले अहिलेको लोकप्रियतावादलाई ‘विश्व साम्राज्यवादको दलाल’ को संज्ञा दिएका छन् । दाहालले रास्वपा लगायतका नयाँ शक्तिहरूलाई लक्षित गर्दै उनीहरू कुनै विचार नभएका ‘भुइँफुट्टा’ भएको दाबी समेत गरेका छन् । दाहालले नेपालमा पनि युक्रेनका जेलेन्स्की जस्तै पात्रहरू तयार पार्ने प्रपञ्च भइरहेको आरोप पनि लगाएका छन् ।



संयोजक दाहालले अहिले १६४ क्षेत्रमा एक्लै उम्मेदवारी दिए पनि भविष्यमा कांग्रेस र एमालेसँगको सहकार्यको ढोका बन्द नभएको बताएका छन् । शेरबहादुर देउवा र केपी ओलीसँग निरन्तर संवादमा रहेको स्वीकार गर्दै उनले राजनीतिमा असम्भव भन्ने केही नहुने उल्लेख गरेका छन् ।
भदौ २४ को विध्वंसलाई आन्दोलन हाइज्याक भएको र त्यसका पछाडि ठूलो राजनीतिक षड्यन्त्र रहेको दाहालको दाबी छ । विगतमा पटक–पटक समीकरण बदल्दा जनतामा अन्योल पैदा भएको स्वीकार गर्दै अबको बाटो सुशासन र उत्पादनमुखी समाजवाद भएको दाहालले बताएका छन् ।



