काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचन प्रक्रिया, मतसंकेत र सही सूचना बारे सचेत गराउने उद्देश्यसहित मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। मत बदर हुने अवस्था न्यूनिकरण गर्न तथा मिथ्या सूचना पहिचान गर्न सक्षम मतदाता तयार पार्न आयोगले डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतनामूलक सामग्री प्रसारण गरिरहेको जनाएको छ।

डिजिटल माध्यममा भइरहेको यो अभियानलाई वडास्तरसम्म विस्तार गर्ने लक्ष्यसहित माघ १९ गतेदेखि विशेष मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ। कार्यक्रमअन्तर्गत देशभरका प्रत्येक स्थानीय तहका हरेक वडामा एक–एक स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवक स्थानीय तहमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट छनोट गरिने व्यवस्था गरिएको छ।

मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी प्रसारका लागि सरकारी स्वामित्वका सञ्चारमाध्यम तथा सम्बन्धित नियामक निकायसँग सहकार्य गरिएको आयोगको भनाइ छ। प्रभावकारी मतदाता शिक्षाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।

उल्लेखनीय छ, प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। निर्वाचनबाट प्रत्यक्ष प्रणालीमार्फत १६५ र समानुपातिक प्रणालीमार्फत ११० सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय