काठमाडौं । फाल्गुन शुक्ल अष्टमीका अवसरमा आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ बजेर १३ मिनेटमा चिरोत्थान गरिएको हो । प्रत्येक वर्ष फाल्गुन शुक्ल अष्टमीका दिन बिहान वसन्तपुरमा चिर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ ।



चिर ठड्याएसँगै वसन्तपुरमा रङ्गीबिरङ्गी रङ खेली खुसी मनाएका थिए । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुन १८ गते सोमबार राति ५ः३१ चिर ढाल्ने साइत समितिले दिएको छ । त्यसै दिन राति ५ः५१ बजे चिर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ ।
यस वर्ष पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराइका जिल्लामा फागुन १९ गते मङ्गलबार फागु पर्व मनाइँदै छ ।



