काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी जिल्लाका दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयको (क) केन्द्र र रेसुङ्गा–५ स्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार ती केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला नै परिचालन गरिएका छन् ।

सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय (क) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी सृजना मिश्रले सम्हाल्नेछिन् । त्यसैगरी, भुवनपानीस्थित जनसहयोग माध्यमिक विद्यालय (ख) केन्द्रमा पुष्पा रायमाझी अर्याल मतदान अधिकृतका रूपमा रहनेछिन् । जिल्ला निर्वाचन कार्यालयले दुवै निर्वाचन क्षेत्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिसकेको जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाभर १ हजार ७१६ कर्मचारी खटाइएको छ । २८५ मतदान केन्द्रका लागि २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, प्रत्येक केन्द्रमा तीन जनाका दरले ८५५ सहायक कर्मचारी र २८५ सहयोगी कर्मचारी परिचालन गरिने निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिएका छन् । जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र राख्न निर्वाचन आयोग नेपाललाई सिफारिस गरिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ लाख १५ हजार २१० महिला, १ लाख १४ हजार ३३७ पुरुष र अन्य दुई गरी कुल २ लाख २९ हजार ५४९ मतदाता रहेका छन् । महिला कर्मचारीद्वारा नेतृत्व गरिने मतदान केन्द्रलाई समावेशी र लैंगिक समानताको सन्देशका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय