काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअघि सीमा नियन्त्रण र सुरक्षा व्यवस्थापन कडा गर्ने निर्णय गरिएको छ । निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चीन सीमामा मतदान सुरु हुनु ७२ घण्टा अघि सीमा सिल गर्ने निर्णय गरेको हो । बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।



बैठकमा मतदाता सुरक्षा सुनिश्चित गर्न मादक पदार्थको बिक्री रोक, विदेशी नम्बर प्लेट सवारी साधनको नियन्त्रण, र हिमाली जिल्लामा निर्वाचन सामग्री पु¥याउने चुनौतीबारे पनि छलफल भएको थियो। त्यस्तै, तराई क्षेत्रमा पर्ने होली पर्व र जनकपुरको माध्यमिकी परिक्रमा मेलाबारे व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि बैठकमा चर्चा भएको थियो।
विशेष गरी भारतको सितमढीबाट हजारौं दर्शनार्थी फागुन १८ गते फर्कने भएकाले सुरक्षा र भीड व्यवस्थापनको तयारी भइरहेको आयोगले जनाएको छ ।



