आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनको लागि मतदान अधिकृत सहितको टोली आ आफ्नो केन्द्र पुगेर मतदान केन्द्र निर्माणमा व्यस्त भएका छन । फाल्गुण २१ गते हुने मतदानको लागि बास र डोरी लगायतको सहायताले केन्द्र निर्माण गरिरहेको भेटिएका छन । महोत्तरीका ग्रामिण भेगहरुमा मतदान केन्द्रहरुमा बास र डोरीले घेरा लगाउने लगायतका कार्यहरु भैरहेका हुन ।मंगलवार महोत्तरीका प्रमुख जिल्ला अधिकारी,मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखहरु समेतको संयुक्त टोलीले समेत मतदान स्थलहरुको अवलोकन गर्दै मतदान अधिकृत सहितको टोलीलाई आवश्यक निर्देशन दिएका छन ।यता मतदान अधिकृत सहितको टोलीले केन्द्रको चारकिल्ला निर्धारण गरिसकेका छन भने सर्वदलिय वैठक वसेर आवश्यक तयारी र प्रकृयावारे जानकारी गराउदै उम्मेदवारहरुको प्रतिनिधी तोक्ने विषयमा समेत प्रकृया थालेका छन ।
महोत्तरीमा कुल २५८ मतदान स्थलमा ५३६ मतदान केन्द्र रहेकोमा मतदान सम्पन्न गर्न कुल ५३६ मतदान अधिकृत,५३६ सहायक मतदान अधिकृत,१६०८ सहायक कर्मचारी र ५३६ कार्यालय सहयोगी खटाइएका छन । यता जिल्लामा स्थायी मतदान केन्द्रको अलावा थप तिन सहायक मतदान केन्द्र समेत रहेकोमा ति केन्द्रहरुको लागि ३ मतदान अधिकृत,३ सहायक मतदान अधिकृत र ३ कार्यालय सहयोगी खटाइएका छन । सवै स्थाई र अस्थाई मतदान केन्द्रहरुमा मतदान टोलीसंगै निर्वाचन प्रहरी सहितको सुरक्षा टोली समेत खटाइएका छन ।यता मतदान केन्द्रहरुको सुरक्षाको लागि जिल्लामा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालित गरिएका छन ।



नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त तथा एकल पैदल गस्तीसंगै मोटरसाईकल र चारपांग्रे समेतका नियमित गस्तीहरु गर्न थालिएको छ ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा शान्तिपुर्ण निर्वाचनको लागि आवश्यक सवै तयारी भैसकेको र सवैले पाएको जिम्मेवारी अनुसार काम गरिरहेको बताएका छन ।महोत्तरीको कुल ४ निर्वाचन क्षेत्रमा ५६ दलगत र ८३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन । सो मध्ये १९ महिला र १२० पुरुष उम्मेदवार छन । यहा महिला मतदाता एकलाख ९६ हजार ९७,पुरुष मतदाता दुईलाख ३५ हजार १८३ र अन्य २ गरि कुल चारलाख ३१ हजार २८२ मतदाता छन ।



