काठमाडौं । भोजपुर जिल्लामा सोमबार राति आएको तीव्र हावाहुरीले विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । विशेषगरी भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ गुल्म हेडक्वाटरमा रहेका ब्यारेकहरू गम्भीर रूपमा प्रभावित भएका छन् ।

हावाहुरीले ब्यारेकका छाना उड्दा त्यहाँ कार्यरत सुरक्षाकर्मीहरू बसोबास गर्नै नसकिने अवस्थामा पुगेका छन् । गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले छाना उडेपछि पानी पर्नासाथ भित्र बस्न समस्या हुने भएकाले दैनिक कार्यसम्पादनमै कठिनाइ उत्पन्न भएको छ । अस्थायी रूपमा बस्ने व्यवस्था मिलाउने प्रयास भइरहे पनि अवस्था सहज भइसकेको छैन ।

यसैबीच, हावाहुरीले जिल्लाका अन्य क्षेत्रमा पनि व्यापक क्षति पुर्याएको छ । स्थानीय बासिन्दाका घरका छाना उड्नुका साथै विद्यालय भवन, स्वास्थ्य संस्था, सञ्चार माध्यमका टावर र नेपाल टेलिकमका संरचनाहरूमा समेत असर परेको छ । यसले जनजीवन मात्र होइन, सञ्चार सेवा र दैनिक गतिविधिमा समेत अवरोध सिर्जना गरेको छ ।

स्थानीय तहहरूले समेत प्रभावित परिवार र संरचनाको विवरण संकलन गर्न सुरु गरिसकेका छन् । प्रारम्भिक रूपमा आवश्यक राहत उपलब्ध गराउने र दीर्घकालीन पुनर्निर्माणका योजना बनाउने तयारी भइरहेको जनाइएको छ ।

हावाहुरीजस्ता प्राकृतिक विपत्तिले पूर्वाधारमा ठूलो असर पार्दा सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सबै प्रभावित भएका छन् । यस परिस्थितिमा तत्काल राहत, सुरक्षित आवास र पुनःनिर्माणको काम प्रभावकारी रूपमा अघि बढाउनु आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय