कोशी प्रदेशका तीन जिल्ला मोरङ, सुनसरी र झापामा बर्ड फ्लु संक्रमण डढेलोझैँ फैलिँदै गएको छ। चैत ४ गते पहिलो पटक देखिएको संक्रमणले अहिले भयावह रूप लिँदा किसानहरू ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन्। अहिलेसम्म झण्डै एक लाख कुखुरा नष्ट भइसकेका छन्।
कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी १२ वटा व्यावसायिक फार्ममा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरका अनुसार मोरङका ६, सुनसरीका ५ र झापाको एउटा फार्ममा संक्रमण देखिएको हो। संक्रमण सुरु भएयता अहिलेसम्म करिब १ लाख कुखुरा मरिसकेका छन्, जसले धेरै किसानलाई ऋणको भुमरी र आर्थिक संकटमा धकेलेको छ। पछिल्लो केही दिनयता विशेष गरी बोइलर र लेयर्स जातका कुखुरा फार्ममा मृत्युदर तीव्र गतिमा बढिरहेको छ।



प्रयोगशालाका अनुसार दैनिक ५ देखि ७ जना किसानले मरेका कुखुराको नमुना परीक्षणका लागि ल्याउने गरेका छन्। परीक्षण गरिएका १०८ नमुनामध्ये ४५ वटामा बर्ड फ्लु पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका क्षेत्रहरूमा कुखुरा, अण्डा र दाना नष्ट गर्ने कामलाई तीव्रता दिइएको छ भने शङ्कास्पद नमुनाहरू थप परीक्षणका लागि काठमाडौँ पठाइएको छ। पछिल्लो एक सातामै नयाँ स्थानमा संक्रमण देखिएपछि अवस्था थप जटिल बनेको छ।
बर्ड फ्लुको बढ्दो संक्रमणले किसानको जीविकोपार्जनमा गम्भीर धक्का पुर्याएको छ। समयमै नियन्त्रण गर्न नसके यो महामारीले प्रदेशकै पोल्ट्री व्यवसाय धराशायी बनाउने जोखिम बढेको छ। त्यसैले सरकार र सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम र किसान लक्षित राहत प्याकेज ल्याउनु आवश्यक देखिएको छ।



