महानगरदेखि नै बालेन्द्र शाहको सहयात्रीको रूपमा चिनिएका सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्रालयको नेतृत्व सम्हालेसँगै खेल क्षेत्र उत्साहित बनेको छ । यस मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा रहेका बेथितिविरुद्ध नवनियुक्त मन्त्री पोखरेलले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । मन्त्री पोखरेलका अगाडि दुवै मन्त्रालयका जिम्मेवारीहरू चुनौतीपूर्ण र आशालाग्दा छन् ।

बालेन शाह नेतृत्वको सरकारमा सस्मित पोखरेललाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । शीतल निवासमा सपथ ग्रहणपछि सिंहदरबारमा शिक्षा मन्त्रालयको पदभार ग्रहण गर्दै पोखरेलले शिक्षा क्षेत्र सुधारमा काठमाडौं महानगरपालिकामा लागू गरिएका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिने उहाँको योजना छ । बालेन काठमाडौं महानगर प्रमुख रहँदा उहाँले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ र शहरी योजना आयोगमा सहायक विज्ञको रूपमा सक्रिय भुमिका खेल्नुभएको थियो ।

शिक्षा क्षेत्रका चुनौतीः
शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तर वृद्धि
विद्यालय शिक्षा विधेयक निष्कर्षमा पुर्‍याई कार्यान्वयनमा ल्याउनु
उच्च शिक्षामा सुधार र राजनीतिकरणको अन्त्य
दक्ष जनशक्ति पलायन कम गर्न स्वदेशमै गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षाको सुनिश्चितता गर्नु
शिक्षक व्यवस्थापन र दरबन्दी मिलान
प्रविधिमैत्री शिक्षा, डिजिटल साक्षरतालाई पाठ्यक्रमको अभिन्न अंग बनाउनु

शिक्षा मन्त्रालयमा पदभार ग्रहण र विभागीय प्रमुखहरुको ब्रिफिङपछि उहाँ युवा तथा खेलकुद मन्त्रालय पुग्नुभयो । खेलकुद मन्त्रीको पदभार ग्रहणपछि खेल क्षेत्रमा दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताउनुभयो । खेलकुद क्षेत्रमा बढ्दो राजनीतिकरणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले आधुनिक प्रविधि र विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै नेपालको शिक्षा र खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी, व्यवस्थित र परिणाममुखी बनाउने योजना सुनाउनुभयो ।

युवा तथा खेलकुद क्षेत्रका चुनौतीः
युवालाई स्वदेशमै टिकाउने र खेलकुदलाई व्यावसायिक बनाउनु
पूर्वाधार विकास, निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला समयमै सम्पन्न गर्नु
युवा स्वरोजगार, स्वदेशमै उद्यमशीलता र सीप विकासका ठोस कार्यक्रम प्रभावकारी बनाउनु
खेलाडीको वृत्ति विकास
नियमित प्रतियोगिता र प्रशिक्षण
खेल संघहरूको विवाद समाधान

काठमाडौं ५ बाट पुराना दलका हेभिवेट प्रतिस्पर्धीहरुलाई फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका सस्मितले अब देशको शिक्षा र खेल क्षेत्र सुधार्ने मौका पाउनुभएको छ । विगतमा आफैंले उठाएका एजेन्डालाई व्यवहारमा लागु गर्ने अवसर अब उहाँको हातमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय