काठमाडौं । पवित्र तीर्थस्थल मातातीर्थमा प्रत्येक वर्ष विशेष श्रद्धा र आस्थाका साथ मनाइने मातातीर्थ औंसी यसपटक विशेष बनेको छ । आमा नहुनेहरूले आमाको सम्झनामा मातातीर्थमा आई श्राद्ध गर्ने यो पर्वमा लाखौं श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । यही भीडबीच यो वर्ष महर्जन समुदायले देखाएको मानवता र सेवा भावले सबैको मन जितेको छ ।

मेलामा आउने श्रद्धालुहरूले महँगो शुल्क तिरेर खाना खानुपर्ने बाध्यता नहोस् भन्ने सोचका साथ महर्जन समुदायले निःशुल्क खाजा तथा जुस वितरणको व्यवस्था गरेको थियो । विशेषगरी गरिब, विपन्न, असहाय तथा टाढाटाढाबाट आएका भक्तजनहरूलाई लक्षित गरी गरिएको यो सेवा केवल दान मात्र नभई समाजप्रतिको गहिरो उत्तरदायित्वको उदाहरण बन्न पुगेको छ ।

स्थानीय बासिन्दा मात्र नभई देशका विभिन्न जिल्लाबाट आएका श्रद्धालुहरूले ताजा, सफा र स्वादिलो खाजा निःशुल्क पाउँदा खुशी व्यक्त गरेका थिए । कतिपयले ‘धर्म कमाउन टाढा जानु पर्दैन, यस्ता काम नै सबैभन्दा ठूलो धर्म हो’ भन्दै महर्जन समुदायप्रति कृतज्ञता प्रकट समेत गरेका थिए ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र महर्जनले मातातीर्थ मेला विश्वको कुनै पनि ठाउँमा नलाग्ने हुँदा यो मेला यस क्षेत्रको लागि मात्र नभई नेपालकै महत्वपूर्ण गौरवको स्थान भएको बताउनु भयो । उहाँले मातातीर्थ औंसीको रौनकता बढाउन, संस्कृतिको संरक्षण गर्न र बाहिरबाट आउने मानिसहरूले स्थानीय समुदायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन महर्जन समुदायले निःशुल्क खाजा वितरण गरेको जानकारी दिनुभयो । अध्यक्ष महर्जनले यस्तो पहलले केवल सेवा मात्र नभई सामाजिक सद्भाव र एकताको सन्देश पनि फैलाउन मद्दत पुग्ने दाबी गर्नुभयो ।

वास्तवमा, आजको व्यस्त र स्वार्थप्रधान समाजमा यस्ता निःस्वार्थ सेवाका उदाहरणहरू कमै देख्न पाइन्छन् । महर्जन समुदायले देखाएको उदारता र समर्पणले ‘समुदाय’ भन्ने शब्दको वास्तविक अर्थलाई पुनः जीवन्त बनाएको छ । यो पहलले एउटा महत्वपूर्ण सन्देश दिएको छ, समाज परिवर्तन गर्न ठूलो शक्ति वा स्रोत आवश्यक पर्दैन, सानो तर सच्चा मनले गरिएको प्रयासले पनि हजारौंको मन जित्न सकिन्छ ।

मातातीर्थ औंसीको अवसरमा गरिएको यो मानवीय कार्यले अब महर्जन समुदायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । उनीहरूको यो कदम केवल एक दिनको सेवा नभई दीर्घकालीन सामाजिक चेतनाको सुरुवात बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय