काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ मा वडा कार्यालय बन्द गरेर जनप्रतिनिधि तथा कर्मचारीहरू भ्रमणमा गएको विषयले स्थानीयस्तरमा ठूलो विवाद सिर्जना गरेको छ । कार्यालय बन्द हुँदा दैनिक प्रशासनिक सेवा लिन पुगेका सेवाग्राहीहरू बिना काम फर्किन बाध्य भएपछि स्थानीयवासी आक्रोशित भएको हुन् ।
चैत २९ देखि वैशाख ३ गतेसम्म वडा कार्यालय पूर्ण रूपमा बन्द गरिएको थियो । यस अवधिमा जन्मदर्ता, सिफारिसपत्र, विभिन्न प्रशासनिक प्रमाणपत्र तथा अन्य अत्यावश्यक सेवाहरू अवरुद्ध भएका थिए । सेवाग्राहीहरू दिनहुँ कार्यालय पुग्दा पनि सेवा नपाउँदा ठूलो असुविधा भोग्नुपरेको बताएका छन् ।



वडा कार्यालय बन्द हुनुको कारण जनप्रतिनिधि र कर्मचारीहरूको मुस्ताङ भ्रमण रहेको खुलेको छ । उनीहरू भ्रमणका लागि सामूहिक रूपमा बाहिरिएको बताइए पनि उक्त भ्रमणको स्पष्ट उद्देश्य, योजना र आवश्यकताबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन । यसले स्थानीयमा थप शंका र असन्तुष्टि बढाएको छ ।
भ्रमणको खर्च कसरी व्यवस्थापन गरियो भन्ने विषय पनि विवादमा परेको छ । वडा सदस्यहरुले खर्च वडाबाट गरिएको र केही व्यक्तिगत रूपमा बेहोरेको बताएका छन् । तर, सार्वजनिक रकम कति खर्च भयो भन्ने स्पष्ट विवरण नआएकाले स्थानीयवासीले पारदर्शीताको माग गरेका छन् ।
सेवा लिन नपाउँदा प्रभावित भएका नागरिकहरूले यस्तो अवस्थामा कार्यालय पूर्णरूपमा बन्द गर्नु गलत भएको बताएका छन् । उनीहरूले जनसेवा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै जनप्रतिनिधिहरूले जिम्मेवारी बिर्सिएको आरोप समेत लगाएका छन्।
स्थानीयहरूले अब उक्त भ्रमणको सम्पूर्ण विवरण सार्वजनिक गर्न, खर्चको पारदर्शीता देखाउन र भविष्यमा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न माग गरेका छन् । यो घटनाले स्थानीय सरकारको सेवा प्रवाह र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।



