काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित हाइभिजन कोलोनी समाजले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । समुदायभित्र आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख वक्ता तथा समाजका अध्यक्ष तारा बहादुर केसीले नयाँ वर्षले सम्पूर्ण सदस्य तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना व्यक्त गर्नुभयो । उहाँले समाजलाई अझ सशक्त र सक्रिय बनाउँदै लैजान सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, समाजका पूर्व अध्यक्ष दिलबहादुर थापाले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोच ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले समुदायभित्र भाइचाराको भावना बलियो बनाउने धारणा राख्नुभयो । उहाँले समाजको विकास र प्रगतिका लागि सबै सदस्यहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अन्य वक्ताहरूले पनि नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समाजले विगतदेखि गर्दै आएका सामाजिक कार्यहरूको प्रशंसा गरेका थिए । उनीहरूले समुदायमा एकता कायम राख्दै विकास र समृद्धिका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए ।

हाइभिजन कोलोनी समाजले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय