काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. २ अन्तर्गत बाडभञ्ज्याङ नागढुंगा क्षेत्रमा रहेको पुरानो वडा कार्यालय नजिक रहेको दुईवटा सटर शिल गरिएको छ । वडा कार्यालयले लामो समयदेखि ताकेता गर्दा पनि सम्बन्धित पक्षले भाडा नबुझाएपछि अन्ततः प्रशासनिक तथा कानुनी प्रक्रिया अवलम्बन गर्दै सटर सिल गर्ने निर्णय गरिएको वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष चन्द्रकुमारी गिरी बस्नेतले जानकारी दिनुभएको छ ।

वडा कार्यालयका अनुसार उक्त भवनको एक सटर तथा सार्वजनिक शौचालय बनेपा नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भएका विरेन्द्र पोडे भनिने विरेन्द्र देउलासँग सम्झौता गरी भाडामा उपलब्ध गराइएको थियो । उनले प्रारम्भिक अवधिमा २०८० साल फागुन महिनासम्मको भाडा नियमित रूपमा बुझाए पनि त्यसपछिका महिनाहरूमा भुक्तानी नगरेको र बक्यौता रकम बढ्दै गएको जनाइएको छ ।
त्यसैगरी, सोही भवनको अर्को सटर चन्द्रागिरि–२ निवासी कुमार भुर्तेलसँग २०७९ साल चैत ७ गतेदेखि लागू हुने गरी सम्झौता गरेर भाडामा दिइएको थियो । तर, सम्झौतापश्चात् भुर्तेलले हालसम्म कुनै पनि भाडा नबुझाइएको वडा कार्यालयले स्पष्ट पारेको छ ।

वडा कार्यालयले दुवै भाडावालालाई पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गरेको, बक्यौता बुझाउन समयसीमा दिइएको तथा आवश्यक सहजीकरणका प्रयासहरू गरिएको भए पनि अटेरी गरिँदै आएको बताएको छ । यसरी बारम्बारको अनुरोध र सूचनाप्रति बेवास्ता भएपछि सार्वजनिक सम्पत्तिको संरक्षण र राजस्व सुनिश्चितताको दृष्टिले कडाइका साथ कदम चाल्न बाध्य भएको कार्यबाहक वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।
वडा कार्यालयले सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिन तथा राजस्व संकलनलाई प्रभावकारी बनाउन यस्ता अनियमितता विरुद्ध कडाइ जारी रहने स्पष्ट गरेको छ । साथै, सम्बन्धित भाडावालाहरूलाई यथाशीघ्र बक्यौता रकम बुझाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ । यदि तोकिएको समयभित्र पनि बक्यौता नबुझाएमा प्रचलित कानुन बमोजिम थप कारबाही अघि बढाइने चेतावनी समेत वडा कार्यालयले दिएको छ ।

स्थानीय तहको सम्पत्ति व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता तथा नियमको पालना सुनिश्चित गर्न यस्ता कदमहरू आवश्यक रहेको बताउँदै वडा कार्यालयले अन्य भाडावालाहरूलाई पनि सम्झौताअनुसार दायित्व पूरा गर्न सचेत गराएको छ ।

सटर शिलबन्दीका क्रममा वडाका जनप्रतिनिधिहरु लवराम सुवेदी, जय तामाङ, नागढुंगा प्रहरी प्रभागका प्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मी, नगरप्रहरी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय