काठमाडौं । पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो । पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल्ट ट्रेडिङको भित्रको चार किल्लाभित्र बसपार्कका लागि छुट्याएर राजत्रपत्रमा प्रकाशित गरिएको थियो ।



बसपार्कका लागि जमिन छुट्याएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर ४७ रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा सुकुमवासी छन् । पोखरा महानगरपालिकाले गरेको अध्ययनअनुसार बसपार्कको जमिनमा ४०० बढी सुकुमवासी परिवार बस्दै आएका छन् । लामो समयसम्म बसपार्क नबन्दा अहिले सडक पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरु आफ्नो गन्तव्यमा छुट्ने गरेका छन् । यसबाट पोखराको पृथ्वीचोक क्षेत्रमा सधैँ यातायात अस्तव्यस्त हुने र लामो जामको समस्या निम्तिएको छ ।
पछिल्लो समय पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि ३५ दिनको सूचना जारी गरेको छ । यही वैशाख ३ गते कार्यपालिकाको बैठकले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो ।
संघीय राजधानी काठमाडौँमा केही दिनयता अतिक्रमित जमिन खाली गराउनेक्रम जारी छ । पोखरामा रहेका पनि सुकुमवासीले व्यवस्थापन विना आफूहरुलाई हटाउन नहुने माग गरेका छन् ।



