काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरुको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनुभएको छ ।



सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरुको अधिकार र पेसागत स्वतन्त्रता नै झन बलियो बन्ने बताउनभुएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि भएको पनि स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री शाहले सरुवा र बढुवाको आधार दलगत निकटता नभएर विधि, क्षमता र दक्षता बन्नुपर्ने पनि बताउनुभएको छ ।
उहाँले सरकारको यो कदम कुनै पार्टीविरुद्धको लडाइँ नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट गर्नुभएको छ । यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि बताउनुभएको छ ।



