काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्साहजनक नतिजा हासिल गरेका छन् । पछिल्ला वर्षहरूमा विद्यालय व्यवस्थापन, शिक्षकको मेहनत र अभिभावकको चासो बढ्दै जाँदा सामुदायिक विद्यालयप्रति विश्वास पनि क्रमशः बढ्न थालेको देखिएको छ ।




नगरपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरणमा १७ वटा सामुदायिक विद्यालयमध्ये कंकाली माध्यमिक विद्यालयका छात्र आभाष सुवेदीले ४ जीपीए प्राप्त गर्दै उत्कृष्ट सफलता हासिल गरेका छन् । यसले सामुदायिक विद्यालयका विद्यार्थी पनि गुणस्तरीय शिक्षा हासिल गर्न सक्षम रहेको सन्देश दिएको छ ।
त्यस्तै, चण्डिभैरव माध्यमिक विद्यालय र भैरवनाथ माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । विद्यार्थीको नियमित सिकाइ, शिक्षकको सक्रियता र विद्यालयको शैक्षिक वातावरण सुधार हुँदै जाँदा यस्तो नतिजा सम्भव भएको विद्यालयहरूले बताएका छन् ।
संख्यात्मक हिसाबले हेर्दा मंगलोदय माध्यमिक विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याउँदै नगरभित्रका सफल सामुदायिक विद्यालयमध्ये आफ्नो स्थान बलियो बनाएको छ । विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव परेको छ ।
शिक्षा शाखाका शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टले यस वर्ष सामुदायिक विद्यालयहरूको समग्र उत्तीर्ण प्रतिशत सन्तोषजनक रहेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहको लगानी, शिक्षकहरूको समर्पण र अभिभावकको सहकार्यले सामुदायिक विद्यालयमा सकारात्मक परिवर्तन देखिन थालेको बताउनु हुन्छ ।

यस वर्षको एसईई परीक्षाको नतिजाले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण हुँदै जानु सामुदायिक शिक्षाका लागि राम्रो संकेत मानिएको छ ।



