काठमाडौं । चन्द्रागिरि नगरपालिकाले व्यवसायीहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ढक, तराजु दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोग तथा चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको समन्वयमा नगरका विभिन्न स्थानमा शिविर सञ्चालन गर्न लागिएको जनाएको हो ।

व्यवसाय सञ्चालनका क्रममा प्रयोग गरिने ढक तथा तराजु समय–समयमा परीक्षण, दर्ता तथा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने झन्झटका कारण धेरै व्यवसायीले समयमै सेवा लिन नसकेको अवस्था छ । यही समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले सेवा नै व्यवसायीको नजिक पु¥याउने उद्देश्यले विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

नगरपालिकाका अनुसार असार ५ गते थानकोट साझा घरबाट शिविरको सुरुवात हुनेछ । त्यसपछि असार ९ गते चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ को कार्यालयबीचको स्थानमा, असार १० गते सतुंगलस्थित लाछीटोल (बुद्ध मन्दिर अगाडि), असार ११ गते वडा नं. १५ तीनथानास्थित मुनाल क्लब, असार १२ गते नयाँ नैकाप चोक, पिपलबोट तथा असार १४ गते चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय प्राङ्गण, बलम्बुमा शिविर सञ्चालन गरिनेछ । शिविर प्रत्येक दिन बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सेवा प्रदान गरिने जनाइएको छ ।

नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायीलाई आफ्नो व्यवसायमा प्रयोग हुने ढक तथा तराजु अनिवार्य रूपमा दर्ता तथा नवीकरण गराउन आग्रह गरेको छ । यसले व्यापारिक कारोबारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सही नापतौलको प्रयोगले उपभोक्ता अधिकारको संरक्षण हुनुका साथै व्यवसायी र ग्राहकबीचको विश्वाससमेत बढ्ने अपेक्षा गरिएको छ ।

शिविरमा सहभागी हुन व्यवसायीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । नयाँ खरिद गरिएको ढक तथा तराजुको हकमा खरिद गरेको ३५ दिन ननाघेको भए खरिद बिल साथमा ल्याउनुपर्नेछ भने ३५ दिन नाघिसकेको अवस्थामा सम्बन्धित ढक वा तराजु नै लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै डिजिटल तराजु प्रयोग गर्ने व्यवसायीले तराजुको क्षमताको कम्तीमा १० प्रतिशत बराबरको ढक पनि साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले शिविरबाट एकै स्थानमा दर्ता, नवीकरण तथा आवश्यक प्राविधिक परीक्षणको सेवा उपलब्ध गराइने जनाएको छ । यसबाट व्यवसायीको समय र खर्च बच्नुका साथै कानुनी प्रक्रियालाई सहज रूपमा पूरा गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय