काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रभाव र डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकाको सहयोग तथा सतुंगल महिला सरोकार समाजको सहकार्यमा दुईदिने प्रायोगिक एआई स्किल तालिम सम्पन्न भएको छ । ‘सीप आजको अवसर, भोलिको चन्द्रागिरि’ भन्ने मूल नारासहित संचालन गरिएको तालिमले युवापुस्तालाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको थियो ।
दुई लाख रुपैयाँको बजेटमा संचालन गरिएको तालिममा ४६ जना प्रशिक्षार्थी सहभागी भएका थिए । तालिम विशेषगरी युवा वर्गलाई लक्षित गरी आयोजना गरिएको थियो, जहाँ एआईको आधारभूत अवधारणा, दैनिक प्रयोग, अध्ययन तथा पेशागत क्षेत्रमा यसको उपयोगिता, डिजिटल सामग्री निर्माण र सूचना प्रमाणीकरणका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।



सतुंगल महिला सरोकार समाजकी अध्यक्ष सरिता महर्जनले बदलिँदो समयसँगै नयाँ प्रविधिको ज्ञान र सीप हासिल गर्नु आवश्यक भएको बताइन् । उनले प्रविधिको विकाससँगै काम गर्ने तरिका, सिकाइ प्रक्रिया र रोजगारीका अवसरहरू समेत परिवर्तन भइरहेको र यस्ता परिवर्तनसँगै आफूलाई अद्यावधिक गर्न नसक्ने व्यक्ति प्रतिस्पर्धाबाट पछि पर्ने जोखिम बढ्दै गएको बताईन ।
उनले समाजले विगतमा विभिन्न प्रकारका सीपमूलक तालिम संचालन गरे पनि अहिलेको समयको आवश्यकता फरक रहेको बताइन् । महर्जनले पछिल्लो समय युवाहरूबाट एआई सम्बन्धी तालिम संचालन गर्न माग बढ्दै गएकाले सोही आवश्यकता र चासोलाई सम्बोधन गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिईन । उनले प्रविधिको सही प्रयोगले व्यक्तिगत क्षमता विकासदेखि उद्यमशीलता र रोजगारी सिर्जनासम्म सकारात्मक प्रभाव पार्न सक्ने बताइन् ।
तालिममा प्रशिक्षक अभिषेक तिवारी र प्रकाश ज्ञवालीले सहजीकरण गरेका थिए । उनीहरूले सहभागीहरूलाई एआईका विभिन्न उपकरणहरूको प्रयोग, डिजिटल उत्पादकत्व वृद्धि, सामग्री निर्माण, सूचना विश्लेषण तथा जिम्मेवार र सुरक्षित एआई प्रयोगका विषयमा व्यावहारिक अभ्यास गराएका थिए ।
कार्यक्रमका सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले अध्ययन, व्यवसाय, रोजगारी तथा व्यक्तिगत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले एआईलाई केवल प्रविधिको विषयका रूपमा नभई दैनिक जीवन र पेशागत विकासको महत्वपूर्ण साधनका रूपमा बुझ्न मद्दत पुगेको बताएका छन् ।
स्थानीय तहको सहयोगमा सञ्चालन भएको यस तालिमले चन्द्रागिरि क्षेत्रका युवाहरूलाई डिजिटल रूपान्तरणको प्रक्रियामा सहभागी गराउँदै प्रविधिमैत्री समाज निर्माणतर्फ सकारात्मक सन्देश दिएको आयोजकको विश्वास छ ।



