काठमाडौं । शान्तिका लागि सामूहिक अभियान (कोक्याप) ले मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा कोक्यापका अध्यक्ष पुष्प भुसालले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि मानव अधिकार रक्षकहरूले लोकतन्त्र, जवाफदेहिता, विधिको शासन र मानव अधिकार संरक्षणमा महत्वपूर्ण तथा साहसिक भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

अध्यक्ष भुसालले मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्नु राज्य, नागरिक समाज र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गर्दै लामो समयदेखि स्वीकृत हुन नसकेको मानव अधिकार रक्षक संरक्षण नीति तत्काल अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । भुसालले उक्त नीति देशभर विभिन्न क्षेत्र, भूगोल र समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि महत्वपूर्ण आधार रहेको बताए ।
उनले मानव अधिकार रक्षक संरक्षण नीति अझै स्वीकृत हुन नसकेको उल्लेख गर्दै त्यसलाई शीघ्र स्वीकृत गरी कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूले गम्भीरता र तदारुकता देखाउनुपर्ने बताए । उनले न्यायप्रतिको प्रतिबद्धताका बाबजुद मानव अधिकार रक्षकहरू अझै पनि जोखिम, उत्पीडन, प्रणालीगत धम्की तथा कतिपय अवस्थामा भौतिक हिंसाको छायाँमा काम गर्न बाध्य रहेको बताए । डर, त्रास र हस्तक्षेपविहीन वातावरणमा स्वतन्त्र रूपमा मानव अधिकारको रक्षा गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा पनि उनले जोड दिए ।

अध्यक्ष भुसालले राष्ट्रिय मानव अधिकार आयोगद्वारा मस्यौदा गरिएको मानव अधिकार रक्षकको संरक्षण, सुरक्षा र पहिचान सम्मानसम्बन्धी नमुना कानुनलाई पनि यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

उनले हाल नेपालमा मानव अधिकारको अवस्था थप जटिल बन्दै गएको र नागरिक अधिकारको दायरा क्रमशः खुम्चिँदै गएकोप्रति चिन्ता समेत व्यक्त गरे ।

को–क्यापको घोषणा पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय