काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । विभागले सूचना जारी गर्दै जयवीर देउवलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।



विभागले जयवीरमाथि शंकास्पद धन आर्जन गरेको र सो रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा सुक्ष्म अनुसन्धान गरिरहेको थियो ।
विभागले जारी गरेको सूचनामा डडेलधुरा जिल्ला साबिक आसिग्राम गाविस वडा नं ५ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम उपस्थित हुन उल्लेख गरिएको छ ।
विभागले केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको विभागको कार्यालयमा हाजिर हुन म्याद दिएको हो ।



