काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चन्द्रागिरि नगर कमिटीले संगठनलाई थप सक्रिय, व्यवस्थित र जनतामुखी बनाउने लक्ष्यसहित ‘मिसन जागरण–२०८३’ अभियान अघि बढाएको छ । नगर कमिटीको विस्तारित बैठकले आगामी एक महिनासम्म संचालन हुने संगठनात्मक तथा जनसम्पर्क केन्द्रित कार्यक्रम पारित गर्दै अभियानलाई औपचारिक रूपमा अघि बढाएको हो ।
नगर कमिटीको कार्यालयमा सम्पन्न बैठकमा पार्टी संगठनलाई वडास्तरसम्म थप सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा जनतासँग प्रत्यक्ष संवाद बढाउने विषयलाई प्राथमिकताका साथ छलफल गरिएको थियो । बैठकले पारित गरेको कार्ययोजनाअनुसार चन्द्रागिरिका १५ वटै वडामा क्रमिक रूपमा संगठन विस्तार, सदस्य परिचालन र जनसम्पर्कका कार्यक्रम सञ्चालन गरिनेछ ।



नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले अभियानले पार्टीलाई जनतासँग अझ नजिक पुर्याउने विश्वास व्यक्त गर्दै संगठनात्मक गतिविधिलाई परिणाममुखी बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्ययोजनाअनुसार वडा कमिटीको पूर्ण बैठक, संगठनात्मक सुदृढीकरण कार्यक्रम, सदस्यता नवीकरण, छुट सदस्यसँग संवाद, स्थानीय नेतृत्व तथा सम्भावित उम्मेदवारसम्बन्धी तथ्यांक संकलन, युवा तथा विद्यार्थी लक्षित वक्तृत्वकला कार्यक्रम र जनप्रतिनिधिको सुशासन अभ्याससम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । नगर कमिटीले यी कार्यक्रममार्फत पार्टीको संगठनात्मक आधारलाई थप मजबुत बनाउनुका साथै जनताका अपेक्षा र सुझावलाई प्रत्यक्ष रूपमा समेट्ने लक्ष्य लिएको छ ।
बैठकमा नेता–कार्यकर्ताले संगठनलाई चलायमान बनाउँदै जनताको घरदैलोमा पुग्ने अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । अभियानले पार्टीको संगठनात्मक एकता, कार्यकर्ता परिचालन र जनसम्बन्ध विस्तारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
विस्तारित बैठकमा एमालेका केन्द्रीय सदस्यहरू राजन भट्टराई र विनोद श्रेष्ठ, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, नगर कमिटीका सदस्य, वडा कमिटीका अध्यक्ष तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
बैठकबाट पारित कार्यक्रमसँगै एमाले चन्द्रागिरि नगर कमिटीले संगठन सुदृढीकरणलाई अभियानकै रूपमा अघि बढाउँदै जनतामाझ थप सक्रिय उपस्थितिका साथ पुग्ने तयारीलाई तीव्र बनाएको छ ।



