काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा नं.– ९ चित्लाङमा स्थानीय महिलाहरूको सक्रिय पहलमा स्थापना गरिएको ‘चित्लाङ कोसेली घर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । स्थानीय अर्गानिक उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
स्थानीय महिलाहरुको मेहनत र सीपलाई व्यावसायिक रूप दिने लक्ष्यसहित स्थापना गरिएको कोसेली घरमा चित्लाङमै उत्पादन गरिएका विभिन्न अर्गानिक खाद्य परिकार बिक्रीका लागि राखिएको छ । कोसेली घरमा चिकेन अचार, बफ अचार, मिक्स अचार, आलु चिप्स लगायतका स्थानीय उत्पादन उपलब्ध हुने सञ्चालकहरूले बताएका छन् ।



कोसेली घर सञ्चालनमा आएपछि स्थानीय उत्पादनले सहज बजार पाउने, महिलाहरूको आयआर्जनमा वृद्धि हुने तथा चित्लाङको मौलिक स्वाद र पहिचानलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले स्थानीय कृषि उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै गाउँमै रोजगारी सिर्जना गर्न समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
चित्लाङ भ्रमणमा आउने पर्यटकहरूले स्थानीय उत्पादन खरिद गरी चित्लाङको मौलिक स्वादको अनुभव गर्न सक्नेछन् । साथै, स्थानीय उत्पादनलाई प्राथमिकता दिई महिला उद्यमलाई साथ दिन आग्रह गरिएको छ ।
स्थानीय स्रोत, सीप र उत्पादनलाई आधार बनाएर सुरु गरिएको ‘चित्लाङ कोसेली घर’ चित्लाङको आर्थिक तथा पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।



