काठमाडौं । चन्द्रगिरि नगरपालिका–६ र ७ नम्बर वडा कार्यालय नजिक, थानकोट सव डिभिजन वन कार्यालय अगाडि सवारी दुर्घटना भएको छ । दुर्घटनामा दुई सवारी साधनमा क्षति पुगेको भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार चन्द्रागिरि केवलकार क्षेत्रबाट आउँदै गरेको बागमती प्रदेश–०१–०३४ च ७२६२ नम्बरको रातो प्लेटको BYD गाडीले सोही दिशातर्फ अघि बढिरहेको बागमती प्रदेश–०१–००२ ज ७६९९ नम्बरको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएको थियो ।



ठक्करबाट ट्याक्सी अनियन्त्रित भई थानकोट सव डिभिजन वन कार्यालयको पर्खालमा ठोक्किन पुगेको थियो । दुर्घटनाका कारण वन कार्यालयको पर्खालमा क्षति पुगेको छ भने ट्याक्सीको अगाडि र पछाडि दुबै भागमा क्षति पुगेको छ ।
ठक्कर दिने BYD गाडी पनि अनियन्त्रित भई करिब १०० मिटर अगाडि पुगेपछि मात्र रोकिएको थियो । उक्त गाडीको अगाडिको भागमा पनि क्षति पुगेको छ ।
दुर्घटनापछि BYD सडकमै रोकिँदा केही समय सवारी आवागमन प्रभावित भएको थियो । पछि क्रेनको सहायताले गाडी हटाइएपछि यातायात संचालन सामान्य अवस्थामा फर्किएको थियो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा चालक तथा यात्रुहरू सकुशल रहेको र कसैलाई पनि चोटपटक नलागेको थानकोट प्रहरी वृत्तले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



