काठमाडौं । चन्द्रागिरि नगर प्राथमिक अस्पतालको नवनिर्मित भवन निर्धारित समयसीमाभित्र निर्माण हुन सकेन । २०८३ असार २० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भवन तोकिएको समयसिमामा नसकिएपछि पुनः म्याद थप गरिएको छ । थपिएको म्याद अनुसार अब निर्माण कम्पनीले असोज ८ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
नगरपालिकाले अस्पताल निर्माणको सम्झौंता एम.ए. कन्स्ट्रक्सन प्रालिसँग गरेको छ । २०८० असार २० मा भएको सम्झौताअनुसार २०८२ असार २० गते सम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । सुरुमै १० महिना ढिलो गरी सुरुभएको अस्पताल निर्माणको काम पटक पटक म्याद थप्दा पनि सम्पन्न हुननसक्दा नगरवासीले प्रश्न उठाउन थालेका छन् । अस्पतालजस्तो संवेदनशील पूर्वाधार निर्माणमा भएको ढिलाइले सेवा विस्तारको प्रक्रिया समेत प्रभावित हुने भएकाले थपिएको समयभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।



नगरपालिकाले भने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि बाँकी रहेका संरचनागत तथा प्राविधिक कामहरू सम्पन्न गर्न थप समय आवश्यक परेकाले म्याद थप गरिएको जनाएको छ । थपिएको अवधिभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ । निर्माणको प्रगति नियमित रूपमा अनुगमन गरिरहेको उल्लेख गर्दै थपिएको समयभित्र भवन सञ्चालनमा ल्याउने नगरपालिकाले गरेको छ ।



