काठमाडौंको कीर्तिपुर नगरपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाघभैरव मन्दिर परिसरको अवस्थाबारे स्थानीयले गम्भीर चासो व्यक्त गरेका छन्। मन्दिरभित्र प्रवेश गर्ने मुख्य गेट र नारायण मन्दिर लामो समयदेखि जीर्ण अवस्थामा रहेको भन्दै स्थानीयले संरक्षण र पुनःनिर्माणमा ढिलाइ भएको गुनासो गरेका हुन्।
स्थानीयका अनुसार बाघभैरव मन्दिर कीर्तिपुरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। तर, मन्दिर परिसरको संरचना बिग्रँदै जाँदा पनि सम्बन्धित निकायले आवश्यक पहल नगरेको भन्दै उनीहरूले प्रश्न उठाएका छन्। मन्दिरको संरक्षण, व्यवस्थापन र जीर्ण संरचना सुधारको जिम्मेवारी कसको हो भन्ने विषयमा जनताले स्पष्ट जानकारी मागेका छन्। स्थानीयले लामो समयदेखि देखिएको समस्याको समाधान नहुँदा सम्पदाको संरक्षणमा बेवास्ता भएको आरोप लगाएका छन्।



आगामी भदौ १ गते बाघभैरव जात्रा आयोजना हुँदैछ। जात्रामा ठूलो संख्यामा भक्तजन तथा पर्यटक सहभागी हुने भएकाले मन्दिर परिसरको हालको अवस्थाले कीर्तिपुरको सांस्कृतिक पहिचान र प्रतिष्ठामा असर पुग्न सक्ने स्थानीयको भनाइ छ। उनीहरूले जात्रा सुरु हुनुअघि नै मन्दिर परिसरको सरसफाइ, मर्मतसम्भार र आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। ऐतिहासिक सम्पदाको संरक्षणमा सबै पक्ष गम्भीर बन्नुपर्ने स्थानीयको जोड छ।



