सुनसरी- सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्ज क्षेत्रमा सोमबार बिहानदेखि अवस्था थप तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको अनिश्चितकालीन कर्फ्यु आदेशलाई उल्लंघन गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि तोडफोड, आगजनी र प्रदर्शनका घटना भएका छन्। सुरक्षाकर्मीको ठूलो उपस्थिति रहे पनि समाचार तयार पार्दासम्म स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। स्थिति नियन्त्रणमा नेपाली सेना परिचालन गरिएको छ ।

आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो। तर, कर्फ्यु लागू भएको केही घण्टामै ठूलो समूह सडकमा उत्रिएर प्रदर्शन थालेको हो।

प्रदर्शनकारीहरूले कप्तानगन्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै पाँचवटा पसलमा तोडफोड गरेका छन्। सुरक्षा स्रोतका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत ग्यारेज र तीनवटा किराना पसलमा क्षति पुगेको छ। केही पसलबाट सामान बाहिर निकालेर आगजनीसमेत गरिएको जनाइएको छ। तनाव बढ्दै गएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। बजार क्षेत्रमा भागदौडको अवस्था सिर्जना भएको छ भने एक पक्ष प्रदर्शनमा उत्रिएसँगै अर्को पक्ष पनि जम्मा हुन थालेपछि थप झडप हुन सक्ने जोखिम बढेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्या परिचालन गरिएको छ। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्ने तथा संवेदनशील क्षेत्रमा सुरक्षा घेरा कडा बनाउने प्रयास गरिरहेका छन्। तर, घटनास्थलको अवस्था अझै संवेदनशील रहेको सुरक्षा स्रोतको भनाइ छ। यसैबीच, घटनाको विरोधमा सुनसरीको ईनरूवा ,लौकही र फूलचोक क्षेत्रमा पनि टायर बालेर प्रदर्शन गरिएको छ। प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन प्रभावित हुँदा यात्रुहरू समस्यामा परेका छन्।

उल्लेखनीय छ, आइतबार राति कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–३ का ओमप्रकास मेहेता को मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रशासनले नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय