मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा भएको ४१ वर्षीय आसमान गोपालीको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

मकवानपुरको थाहा नगरपालिका–१० निवासी गोपाली आइतबार हेटौँडा–११ स्थित राजमार्ग किनारमा मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको अनुसन्धानका क्रममा होटलमा बसेका ६ जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गोपालीसहित ६ जनाले घटनाको राति हेटौँडा–११ स्थित एक होटलमा ग्राहकका रूपमा तीनवटा कोठा बुक गरेर बसेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच आपसी विवाद भएपछि घटना भएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका मुद्दा शाखाका इन्चार्ज प्रहरी निरीक्षक उमाशंकर गुप्ताका अनुसार मृतकका आफन्तले दिएको जाहेरीका आधारमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। घटनासँग सम्बन्धित थप तथ्यहरू अनुसन्धानपछि खुल्दै जाने प्रहरीले जनाएको छ। घटनाको राति स्थानीयवासीले झगडा भएको र गुहार मागेको आवाज सुनेको जानकारी प्रहरीलाई दिएका छन्। सोही आधारमा प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

अनुसन्धानलाई प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त स्निफर डग परिचालन गरिएको छ। साथै घटनास्थल आसपासका होटल तथा सडक क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजसमेत प्रहरीले सूक्ष्म रूपमा अध्ययन गरिरहेको जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको भूमिका, विवादको कारण र हत्या कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय