कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने सयौँ मानिस अझै बेपत्ता छन्। सोमबार गएको ७।४ म्याग्निच्युडको भूकम्पलाई कोलम्बियन जियोलोजिकल सर्भिसले २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प भनेको छ। सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो। पछि कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले मृतकको संख्या १३२ पुगेको र ५७० जना घाइते भएको जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो। भूकम्प करिब १०७ किलोमिटर गहिराइमा गएको थियो। त्यसपछि केही घण्टाभित्र कम्तीमा २१ वटा परकम्पसमेत गएको बताइएको छ। भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेसलगायत शहरमा ठूलो क्षति पुगेको छ। छिमेकी इक्वेडर र पानामासम्म पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

भवन भत्किँदा ठूलो क्षति

स्थानीय अधिकारीका अनुसार कालीमा कम्तीमा २० वटा भवन पूर्ण रूपमा भत्किएका छन् भने करिब ३८० भवनमा क्षति पुगेको छ। भत्किएका भवनका भग्नावशेषमा मानिस फसेको आशंकामा उद्धार तथा खोजी कार्य जारी छ। उद्धारमा संलग्न टोलीले कंक्रिटका ठूला टुक्रा तथा अन्य भग्नावशेष हटाएर मानिसको खोजी गरिरहेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण संकलन गर्नसमेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाकाका अनुसार उक्त क्षेत्रमा मात्रै १२ जनाको मृत्यु र ८४ जना घाइते भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय अगुवाहरूले ठूलो संख्यामा मानिस बेपत्ता भएको बताएका छन्। रिसाराल्दा क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। क्षेत्रीय राजधानी पेरेइरामा पनि ठूलो क्षति पुगेको छ। भाये डेल काउका क्षेत्रमा कम्तीमा २७ जनाको मृत्यु भएको र मृतकमध्ये तीन जना बालबालिका रहेको बताइएको छ।

पेरेइरामा विमानस्थलको छतका केही भाग खसेका छन्। शहरमा कम्तीमा १५ वटा भवन भत्किएको र ती भवनमा मानिस फसेको आशंका गरिएको मेयर माउरिसियो सालाजारले बताएका छन्।
मानिजालेसमा प्रसिद्ध नव–गोथिक शैलीको क्याथेड्रलको एउटा टावरसमेत भत्किएको छ। टावरको भग्नावशेष सडकमा खसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

देशभर संकटकाल घोषणा

भूकम्पपछि राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले राष्ट्रिय सम्बोधन गर्दै देशभर संकटकाल घोषणा गरेका छन्। उनले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा मानवीय सहायता पुर्‍याउन सरकारका सबै संयन्त्र परिचालन गरिएको बताएका छन्। राष्ट्रपतिले भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धारलाई सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। केही दिनअघि मात्रै राष्ट्रपतिको शपथ लिएका एस्प्रिएल्लाका लागि यो पहिलो ठूलो राष्ट्रिय संकट बनेको छ। भूकम्पपछि नागरिक उड्डयन प्राधिकरणले पश्चिमी क्षेत्रका केही विमानस्थलमा उडान सेवा अस्थायी रूपमा स्थगित गरेको छ। पेरेइरा, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुराका विमानस्थलमा संरचनाको प्राविधिक निरीक्षण भइरहेको छ।

हजारौँ परिवार प्रभावित, बेपत्ताको खोजी तीव्र

भूकम्पपछि आफन्त सम्पर्कविहीन भएको भन्दै मानिसहरूले अनलाइन डेटाबेसमा विवरण राख्न थालेका छन्। एउटा डिजिटल डेटाबेसमा मात्रै १ हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएको विवरण दर्ता भएको बताइएको छ। तीमध्ये अधिकांश काली र पेरेइराका रहेको जनाइएको छ। भूकम्पको केन्द्र नजिक पर्ने चोको क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा त्यहाँको वास्तविक क्षतिको विवरण आउन अझै समय लाग्ने देखिएको छ।

यस शताब्दीको शक्तिशाली भूकम्प

कोलम्बिया प्रशान्त महासागर वरपरको भूकम्पीय क्षेत्रमा पर्ने भएकाले यहाँ साना भूकम्प सामान्य मानिन्छन्। तर ६ म्याग्निच्युडभन्दा माथिका भूकम्प भने तुलनात्मक रूपमा दुर्लभ छन्। सन् १९९९ मा आर्मेनिया शहरनजिक गएको ६।२ म्याग्निच्युडको भूकम्पमा १ हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यसको तुलनामा सोमबारको ७.४ म्याग्निच्युडको भूकम्प निकै शक्तिशाली मानिएको छ। भूकम्पविद्हरूका अनुसार भूकम्पको ठूलो म्याग्निच्युड, जमिनभित्रको गहिराइ र भूगर्भीय चालका कारण जनघनत्व भएका क्षेत्रमा शक्तिशाली कम्पन महसुस भएको हुन सक्छ।

विभिन्न देशबाट सहयोगको प्रतिबद्धता

भूकम्पपछि अमेरिकासहित विभिन्न देशले कोलम्बियालाई सहयोग गर्ने घोषणा गरेका छन्। अमेरिकाले आपत्कालीन आश्रय, खाद्यान्न तथा उद्धार र राहतका लागि १ करोड ५५ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कोलम्बियामा गएको भूकम्पको अवस्था नजिकबाट निगरानी गरिरहेको र प्रभावितलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। त्यस्तै, एल साल्भाडोर, मेक्सिको र चिलीले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। इजरायल, इक्वेडर र फ्रान्सले समेत उद्धार तथा राहत कार्यमा सहयोग गर्ने प्रस्ताव गरेका छन्। यसैबीच, कोलम्बियामा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। भग्नावशेषमा फसेकाहरूको खोजी, घाइतेको उपचार तथा प्रभावित क्षेत्रमा खाद्यान्न र आवश्यक सामग्री पुर्‍याउने कामलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय