काठमाडौं – भारतीय प्रधान सेनापति जनरल धिरज सेठ आइतबार नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। उनी अपराह्न ४ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनको नेपाल भ्रमणलाई नेपाल–भारत सैन्य सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। नेपाल भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै उनले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्नेछन्। भेटवार्तामा दुई देशका सेनाबीचको आपसी सहकार्य, सम्बन्ध तथा सहयोगका विषयमा छलफल हुने बताइएको छ।

जनरल सेठ ३० जुन २०२६ मा भारतीय सेनाको प्रमुख नियुक्त भएका हुन्। उनी भारतीय सेनाका ३१औँ थलसेनाध्यक्ष हुन्। प्रधान सेनापतिको जिम्मेवारी सम्हालेपछि नेपाल उनको पहिलो विदेश भ्रमण रहेको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि भारतबाट नेपाल भ्रमणमा आउने उनी अहिलेसम्मकै वरिष्ठ अधिकारीसमेत हुन्।

सोमबार मानार्थ महारथीको दर्जा

नेपाल भ्रमणको मुख्य कार्यक्रमअन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधान सेनापति जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्। उनलाई दर्ज्यानी चिह्नसमेत प्रदान गरिनेछ। नेपाल र भारतबीच एकअर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ। यही परम्पराअनुसार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। उनले २०८१ मंसिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट उक्त दर्जा ग्रहण गरेका थिए।

सैनिक अधिकारीसँग भेटवार्ता

नेपाल बसाइका क्रममा जनरल सेठले सैनिक मञ्च टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा नेपाली सेनाका प्रधान सेनापति सिग्देलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटमा नेपाल र भारतका सेनाबीच हुँदै आएको सहकार्य तथा आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ।

भारतीय प्रधान सेनापतिको नेपाल भ्रमणलाई दुई देशबीचको लामो समयदेखिको सैन्य सम्बन्धलाई निरन्तरता दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी एकअर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराले नेपाल–भारतबीचको रक्षा तथा सैन्य सम्बन्धमा विशेष महत्व राख्दै आएको छ। जनरल सेठको भ्रमणका क्रममा उच्च राजनीतिक तथा सैनिक नेतृत्वसँग हुने भेटवार्ता र छलफलले आगामी दिनमा नेपाल–भारतबीचको रक्षा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय