काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले अघि बढाउन लागेको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसलाई रोक्न आफूले आवश्यक कदम चाल्ने संकेत गरेका छन्। मंगलबार एक अपिल जारी गर्दै देउवाले विशेष महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले संस्थापन पक्षबाट अघि बढाइएको महाधिवेशन पार्टीको हितविपरीत रहेको दाबी गर्दै त्यसले कांग्रेसलाई थप कमजोर बनाउने चेतावनी दिएका हुन्। ‘नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाले आफ्नो अपिलमा भनेका छन्। कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन पक्षधर समूह एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाएका छन्।
उनका अनुसार विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाट अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुन्छ। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थालाई उल्लेख गर्दै देउवाले विशेष महाधिवेशनसम्बन्धी विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्नहरू रहेको दाबी गरेका छन्।



‘पार्टी कमजोर बनाउने प्रयास’
देउवाले विशेष महाधिवेशन पक्षधरहरूले पार्टीका अनुभवी नेतृत्व तथा बहुसंख्यक नेता–कार्यकर्तालाई बेवास्ता गरेर अघि बढ्न खोजेको आरोप लगाएका छन्। यस्तो प्रवृत्तिले कांग्रेसलाई निर्माण र सुदृढीकरण गर्नुको साटो पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ। विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने प्रश्नको जवाफसमेत आम नेता–कार्यकर्ता र जनताले अझै नपाएको उनले उल्लेख गरेका छन्।उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमति र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्। एकपक्षीय रूपमा महाधिवेशन अघि बढाउने प्रयासले पार्टीभित्रको समस्या समाधान नगरी थप जटिलता निम्त्याउने उनको संकेत छ।
‘पदको लोभ छैन’
देउवाले आफूलाई कुनै पद वा जिम्मेवारीप्रति व्यक्तिगत लोभ नरहेको पनि स्पष्ट पारेका छन्। तर पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता महसुस गरेमा जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न आफू पछि नहट्ने बताएका छन्। देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित १४औँ महाधिवेशनका सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको दाबी छ।
देउवाको अपिलसँगै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर लामो समयदेखि जारी विवाद थप चर्किने संकेत देखिएको छ। एकातर्फ विशेष महाधिवेशन अघि बढाउने पक्षले त्यसलाई पार्टी सुधार र नेतृत्व परिवर्तनको आवश्यक कदमका रूपमा प्रस्तुत गर्दै आएको छ भने देउवा पक्षले त्यसको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाउँदै आएको छ। अब विवादको राजनीतिक समाधान सहमति र संवादबाट खोजिन्छ वा कानुनी प्रक्रियाबाट टुंगिन्छ भन्ने विषय कांग्रेसभित्र थप चासोको विषय बनेको छ।



