काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्दै छन्। कतारको दोहामा छोटो ट्रान्जिटपछि उनी न्युयोर्क पुग्नेछन्। तर, यसपटक उनको विदेश भ्रमणको सुरुवात भने विगतका प्रधानमन्त्रीहरूको भन्दा फरक हुने भएको छ। प्रधानमन्त्री शाहलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा विगतमा जस्तो औपचारिक कार्यक्रम आयोजना नहुने भएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको बिदाइका क्रममा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरूलाई विमानस्थलमा बोलाइएको छैन।

त्यसैगरी नेपाली सेनाबाट दिइने गार्ड अफ अनर पनि यसपटक राखिएको छैन। भीआईपी लाउन्जदेखि विमानसम्म प्रधानमन्त्रीलाई लैजाँदा प्रयोग हुँदै आएको रेड कार्पेटसमेत नबिछ्याइने भएको छ।प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम नगरी सिधै विमान पार्किङ गरिएको स्थानसम्म जाने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अहिलेको अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री स्वयंले विमानस्थलमा अनावश्यक तामझाम नगर्ने इच्छा व्यक्त गरेका हुन्।

‘भोटेकोशी बाढीका कारण पूरै देश शोकमा छ। यस्तो अवस्थामा विमानस्थलमा तामझाम गर्न प्रधानमन्त्रीले नचाहनुभएको हो,’ ती अधिकारीले भने। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ भने ५ हजार ७ सय ४५ जना अझै सम्पर्कविहीन छन्। विपद्को यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीको विदेश भ्रमणमा भव्य बिदाइ कार्यक्रम नगर्ने निर्णय गरिएको अधिकारीहरूको भनाइ छ।

यसलाई कतिपय अधिकारीले अन्तर्राष्ट्रिय अभ्याससँग पनि जोडेर हेरेका छन्। धेरै मुलुकमा सरकार प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा यस किसिमको औपचारिक बिदाइ कार्यक्रम आयोजना गर्ने चलन नरहेको उनीहरूको भनाइ छ। प्रधानमन्त्री शाहले पनि नेपालमा लामो समयदेखि चलिआएको यस्तो परम्परागत अभ्यासलाई निरन्तरता नदिने शैली अपनाउन खोजेको देखिन्छ।

महासभामा प्रधानमन्त्रीको सम्बोधन

विपद्का कारण प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमण गर्ने वा नगर्ने विषयमा केही समय छलफल भएको थियो। भोटेकोशी बाढीले ठूलो क्षति पुर्‍याएपछि पूर्वनिर्धारित भ्रमण स्थगित गर्ने विकल्पबारे समेत छलफल भएको थियो। तर अन्ततः प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर नेपालको धारणा विश्व समुदायसमक्ष राख्ने निर्णय गरेका छन्। प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा उनले नेपालको समसामयिक अवस्था तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा प्रस्तुत गर्नेछन्। प्रधानमन्त्रीले सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। न्युयोर्कस्थित नेपाली कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएर सम्बोधन गर्न जान लागेको विषयलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

द्विपक्षीय भेटवार्ता नगर्ने

यसपटक प्रधानमन्त्री शाहले न्युयोर्कमा अन्य देशका सरकार प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता नगर्ने भएका छन्। विभिन्न देशका सरकार प्रमुखहरूले प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि अनुरोध गरे पनि उनले यस भ्रमणमा द्विपक्षीय भेटवार्ता नराख्ने निर्णय गरेको अधिकारीहरूले बताएका छन्। यद्यपि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग भने भेटवार्ता हुने कार्यक्रम छ। प्रधानमन्त्रीको भ्रमणका क्रममा आवश्यक कूटनीतिक समन्वय तथा अन्य कार्यक्रमको व्यवस्थापनका लागि परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्। उनले विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता सुरु गरिसकेका छन्। प्रधानमन्त्रीका सहयोगी प्रदीप परियार र सुवास शर्मा पनि भ्रमण व्यवस्थापन तथा कार्यक्रम समन्वयका लागि यसअघि नै न्युयोर्क पुगिसकेका छन्।

दोहामा नेपाली अधिकारीले स्वागत गर्ने

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतार एयरवेजको उडानबाट दोहा हुँदै न्युयोर्क जानेछन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक नेपाली राजदूत कुमार राईले प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीसँगको भ्रमण टोली भने सानो राखिएको छ। मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुई सुरक्षाकर्मी र एक शिष्टाचार अधिकृत प्रधानमन्त्रीसँग न्युयोर्क जानेछन्। प्रधानमन्त्री शाहको भ्रमण टोली तथा कार्यक्रम व्यवस्थापनमा यसअघि नै न्युयोर्क पुगेका उनका सहयोगी र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समन्वय गर्नेछन्।

प्रधानमन्त्री शनिबार काठमाडौं फर्कने कार्यक्रम छ।

यसपटकको भ्रमणमा विमानस्थलदेखि नै अपनाइएको फरक शैलीले प्रधानमन्त्री शाहको विदेश भ्रमणलाई विगतको भन्दा केही अलग बनाएको छ। विशेषगरी देश ठूलो प्राकृतिक विपद्को शोकमा रहेका बेला औपचारिक बिदाइ कार्यक्रम नगर्ने निर्णयलाई प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले संवेदनशील परिस्थितिप्रतिको दृष्टिकोणका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय