काठमाडौं – बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएपछि नेपालमा यसको प्रभाव देखिन थालेको छ। मौसमविद्का अनुसार प्रणाली अहिले चक्रवातमा परिणत भइसकेको छैन। तर यसको प्रभावले देशभर वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद्का अनुसार बंगालको खाडी तथा अरब सागरमा विकसित हुने मौसमी प्रणालीले नेपालमा सामान्यतया प्रत्यक्षभन्दा अप्रत्यक्ष प्रभाव पार्ने गर्छ। अहिले उक्त प्रणाली अन्डमान–निकोबार क्षेत्र हुँदै भारतको आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको छ। समुद्रमा रहँदा प्रणालीले थप जलवाष्प र ऊर्जा प्राप्त गरी शक्तिशाली बन्न सक्ने मौसमविद्हरूको भनाइ छ। भारततर्फ प्रवेश गरेपछि जमिनसँगको घर्षणका कारण प्रणाली कमजोर हुने भए पनि त्यसबाट बनेका बादल, जलवाष्प र वर्षाको प्रणाली भारत हुँदै नेपाल प्रवेश गर्नेछ। प्रणालीको दिशा र शक्ति परिवर्तन हुनसक्ने भएकाले नेपालमा पर्ने वर्षाको मात्रा र प्रभाव अहिले नै ठ्याक्कै निर्धारण गर्न कठिन रहेको मौसमविद्हरू बताउँछन्।

काठमाडौंसहित तीन प्रदेशमा बढी प्रभावको सम्भावना

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार हालको आकलनमा प्रणाली भारतको झारखण्ड हुँदै उत्तर प्रदेशको गोरखपुर र बिहार आसपासबाट अघि बढ्ने सम्भावना छ। यदि प्रणाली यही बाटोबाट अघि बढेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा बढी प्रभाव पर्न सक्ने उहाँको भनाइ छ। काठमाडौं उपत्यकासहित बागमतीको पूर्वी क्षेत्रमा पनि वर्षाको प्रभाव बढ्नसक्ने अनुमान गरिएको छ। काठमाडौंमा तीव्र शहरीकरण, खोलानाला अतिक्रमण तथा कमजोर पानी निकासका कारण धेरै ठूलो वर्षा नभए पनि डुबानको जोखिम रहेको मौसमविद् सिग्देल बताउनुहुन्छ। उहाँका अनुसार काठमाडौंमा ५० देखि ८० मिलिमिटरसम्म वर्षा हुँदा पनि केही क्षेत्रमा डुबानको अवस्था आउन सक्छ।

असोज ९ देखि ११ गतेसम्म बढी जोखिम

मौसम प्रणालीको प्रभाव नेपालमा देखिन थालिसकेको छ। अहिले विभिन्न क्षेत्रमा बादल लाग्ने र वर्षा हुने क्रम जारी छ। बिहीबारदेखि वर्षाको क्षेत्र र मात्रा थप बढ्ने पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभागका अनुसार असोज ९, १० र ११ गते यो प्रणालीको प्रभाव बढी देखिन सक्छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार प्रणालीको प्रभावले देशका अधिकांश क्षेत्रमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्छ। केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा तुलनात्मक रूपमा बढी वर्षा तथा हिमपात हुनसक्ने सम्भावना रहे पनि जोखिम भने देशभर नै रहेको विभागको भनाइ छ।

तराईमा डुबान, पहाडमा पहिरोको जोखिम

भारी वर्षाका कारण तराईका नदी तथा खोलामा पानीको बहाव बढेर डुबानको जोखिम बढ्नसक्ने मौसमविद्हरूले बताएका छन्। नदी किनार र होचा भूभागमा रहेका बस्ती बढी प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। पहाडी क्षेत्रमा भने पहिरोको जोखिम उच्च रहनेछ। पछिल्लो समय लगातारको वर्षाका कारण जमिन भिजिसकेको र कतिपय सडक तथा भौतिक संरचना कमजोर अवस्थामा रहेकाले थप वर्षाले जोखिम बढाउन सक्ने मौसमविद्हरूको भनाइ छ। मौसमविद् सिग्देलका अनुसार जमिन पहिले नै भिजेको अवस्थामा २४ घण्टामा १०० देखि १५० मिलिमिटरसम्म वर्षा हुँदा पनि बाढी, पहिरो र सडक क्षतिको जोखिम हुन सक्छ।

उच्च हिमाली क्षेत्रमा हिमआँधीको जोखिम

मौसम विज्ञान विभागले उच्च हिमाली क्षेत्रका केही जिल्लामा समेत उच्च जोखिम देखाएको छ। विभागका अनुसार ती क्षेत्रमा हिमआँधी अर्थात् स्नो स्ट्रोमको सम्भावना रहेकाले पदयात्रा तथा पर्वतारोहणमा रहेकाहरूले विशेष सावधानी अपनाउनुपर्नेछ। मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्मको मौसम अवस्था हेरेर मात्रै हिमाली क्षेत्रमा यात्रा गर्न सुझाव दिएका छन्।

लामो दूरीको यात्रा नगर्न सुझाव

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म सकेसम्म लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्। विशेषगरी रातिको समयमा यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्रै सम्बन्धित क्षेत्रको मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह गरिएको छ। भारी वर्षाले सडक यातायातसँगै हवाई सेवामा समेत असर पार्नसक्ने भएकाले सम्बन्धित निकायले जोखिमअनुसार यातायात व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।

जोखिम क्षेत्रमा पूर्वतयारीमा जोड

मौसमविद्हरूले नदी, खोला तथा खोल्साको आसपास बसोबास गर्ने नागरिकलाई केही दिन विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। जलाधार क्षेत्रमा ठूलो वर्षा हुँदा त्यसको प्रभाव तल्लो क्षेत्रमा रहेका नदी प्रणालीमा समेत पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। स्थानीय तहले बाढी तथा पहिरोको सम्भावित क्षेत्र पहिचान गर्ने, नदी तथा खोलाको निगरानी बढाउने, जोखिममा रहेका समुदायलाई समयमै सूचना दिने र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गर्नुपर्ने विज्ञहरूको सुझाव छ। किसानलाई समेत मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरिएको छ। पाक्न लागेको धान तथा अन्य कृषि उपजलाई सुरक्षित राख्ने र काटिसकेको बाली सुरक्षित स्थानमा भण्डारण गर्ने तयारी गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।

आधिकारिक सूचना पछ्याउन आग्रह

मौसम प्रणालीको दिशा र शक्ति परिवर्तन हुनसक्ने भएकाले पूर्वानुमान पनि समयअनुसार अद्यावधिक हुने गर्छ। त्यसैले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट तथा अतिरञ्जित सूचनाको भर नपरी मौसम विज्ञान विभाग र सरकारका सम्बन्धित निकायबाट जारी आधिकारिक सूचना मात्रै पछ्याउन विज्ञहरूले आग्रह गरेका छन्। सम्भावित जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वय गरी पूर्वतयारी बढाउनुपर्ने र नागरिकले पनि समयमै सावधानी अपनाउनुपर्नेमा मौसमविद्हरूले जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय