धनकुटा- पूर्वी पहाडी जिल्लामा उत्पादन हुने प्रमुख नगदेबाली अलैँचीको मूल्य घटेपछि धनकुटाका किसान चिन्तित बनेका छन्। नयाँ सिजनमा बजारमा अलैँचीको मूल्य निरन्तर ओरालो लागेपछि किसानले अपेक्षित आम्दानी गर्न नसक्ने अवस्था आएको बताएका छन्। भदौको पहिलो साता प्रतिकिलो करिब ९८ हजार रुपैयाँ प्रतिमनमा कारोबार सुरु भएको अलैँची अहिले धनकुटाको हिले बजारमा करिब ८५ हजार रुपैयाँ प्रतिमनमा झरेको छ। एक महिनाको अवधिमै अलैँचीको मूल्यमा करिब १३ हजार रुपैयाँले गिरावट आएको हो।
मूल्य निरन्तर घट्न थालेपछि अलैँची उत्पादनमा संलग्न किसान चिन्तित बनेका छन्। धनकुटाको पाख्रिबास नगरपालिका–१ का किसान निर्मल स्याङ्देनका अनुसार अलैँची उत्पादन हुने मुख्य सिजनमै मूल्य घट्दा किसानलाई निराश बनाएको छ। अलैँची उत्पादन हुने मुख्य सिजन सुरु भएपछि दसैँअघि नै अधिकांश किसानले बिक्रीका लागि अलैँची बजारमा ल्याउने गरेका छन्। तर, किसानले अलैँची निकालेर बजारमा ल्याउन थालेसँगै मूल्य घटेको उनीहरूको गुनासो छ।



गत वर्ष यही सिजनमा अलैँचीको मूल्य प्रतिकिलो करिब ९५ हजार रुपैयाँ प्रतिमनसम्म पुगेको थियो। यस वर्ष भने मूल्य अझै घट्न सक्ने भन्दै व्यापारीहरूले बताउन थालेपछि किसान थप चिन्तित बनेका छन्। असोजको पहिलो सातामा गत वर्षभन्दा केही कम अर्थात् करिब ८० हजार रुपैयाँ प्रतिमनमा कारोबार भएको अलैँचीको मूल्य यस वर्ष उत्पादन तथा आपूर्तिको अवस्थाका कारण केही बढेको भए पनि पछिल्लो समय पुनः घट्न थालेको व्यापारीहरूको भनाइ छ।
धनकुटाका अलैँची व्यवसायी श्यामशाहका अनुसार नेपालको अलैँचीको मूल्य निर्धारण मुख्यतः भारतीय बजारमा निर्भर हुने गरेको छ। भारतको सिक्किम तथा आसामलगायतका बजारमा नेपाली अलैँची पुगेपछि त्यहाँको माग र मूल्यका आधारमा नेपालमा समेत कारोबार हुने गरेको उनले बताए। उनका अनुसार भारतीय बजारमा अलैँचीको माग तथा मूल्यमा परिवर्तन आएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने गर्छ। उत्पादनको अवस्था, बजारमा आपूर्ति र भारतीय बजारको मागका आधारमा आगामी दिनमा अलैँचीको मूल्य थप घटबढ हुन सक्ने उनको भनाइ छ।
धनकुटामा यस वर्ष अलैँची उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। जिल्लामा लामो समयदेखि व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार धनकुटामा करिब ४ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। जिल्लाबाट वार्षिक करिब ४२ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्यांक छ।
धनकुटाका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको छ। धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका, साँगुरीगढी गाउँपालिका तथा छथर जोरपाटी गाउँपालिकाका विभिन्न क्षेत्रमा किसानले ठूलो क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन्।अलैँची खेतीबाट राम्रो आम्दानी हुने आशामा पछिल्ला वर्षमा किसानले खेती विस्तार गर्दै आएका छन्। तर उत्पादन बढे पनि बजार मूल्यमा उतारचढाव हुँदा लगानीअनुसारको आम्दानी गर्न नसकिने अवस्था आउन सक्ने किसानको चिन्ता छ।
किसानहरूले अलैँचीको मूल्यमा हुने अस्थिरता नियन्त्रण गर्न बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा उत्पादनको लागतअनुसार किसानले लाभ पाउने वातावरण बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने माग गरेका छन्। अलैँची धनकुटालगायत पूर्वी पहाडी जिल्लाका किसानको प्रमुख आम्दानीको स्रोतका रूपमा रहेको छ। त्यसैले यसको बजार मूल्यमा आउने सामान्य उतारचढावले समेत किसानको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।



