नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै जाँदा पोखरामा हिमाली च्याङ्ग्राहरू भित्रिन थालेका छन्। दसैँको अवसरमा पोखरा र आसपासका क्षेत्रमा च्याङ्ग्राको मासु खाने परम्परा रहेकाले यस समयमा बजारमा च्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ ।

पोखरेली उपभोक्ताहरूमाझ विशेष गरी मुस्ताङको च्याङ्ग्राको माग बढी हुने गर्दछ। हिमाली जडीबुटी खाएका कारण मुस्ताङको च्याङ्ग्रा स्वादिलो र स्वास्थ्यका लागि हितकर मानिने हुनाले ग्राहकको पहिलो रोजाइमा मुस्ताङकै च्याङ्ग्रा पर्ने गरेको व्यापारीहरू बताउँछन्। बजारको यही उच्च मागलाई धान्नका लागि यतिबेला मुस्ताङका साथै पश्चिम नेपालका जिल्ला डोल्पा, जुम्ला लगायतका क्षेत्रबाट समेत ठुलो सङ्ख्यामा च्याङ्ग्राहरू पोखरा भित्र्याउने क्रम चलिरहेको छ। यस वर्ष व्यवसायी र उपभोक्ता दुवैका लागि च्याङ्ग्रा खरिद–बिक्रीमा केही सास्ती थपिएको छ। हालै कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ, म्याग्दी र मुस्ताङ खण्डका विभिन्न स्थानमा सडक कटान गरेपछि यातायात सञ्चालनमा ठुलो समस्या पैदा भएको छ। सडक सञ्जाल क्षतविक्षत हुँदा सडकमार्गबाट च्याङ्ग्रा ढुवानी गर्न निकै कठिन भइरहेको व्यवसायी बताउछन् ।

यस पटक सडक अवरोध र ढुवानी जोखिम उच्च रहेकै कारण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ले समेत बजार नियन्त्रणका लागि गरिने च्याङ्ग्रा खरिद–बिक्री प्रक्रिया स्थगित गरेको छ।बाढी र पहिरोका कारण सडक अवरुद्ध भई ढुवानी लागत र जोखिम बढेका कारण यस पटक दसैँमा च्याङ्ग्राको मूल्य विगतका वर्षहरूभन्दा बढ्न सक्ने अनुमान व्यवसायीहरूले गरेका छन्। मुस्ताङकै खोरहरूमा प्रतिगोटा मूल्य उच्च रहेका बेला पोखरासम्म आइपुग्दा ढुवानी खर्च थपिँदा मूल्य अझै बढ्ने देखिएको छ ।

व्यापारीहरूका अनुसार यतिबेला पोखरा बजारमा एउटा च्याङ्ग्राको मूल्य बनोट र तौलका आधारमा ४० हजारदेखि ५० हजार रुपैयाँसम्म पुग्न सक्ने संकेत देखिएको छ। माग उच्च भए पनि आपूर्ति प्रक्रिया झन्झटिलो र महँगो बन्दा सर्वसाधारणले यसपालिको दसैँमा च्याङ्ग्राको मासुका लागि बढी मूल्य चुकाउनुपर्ने देखिएको छ।पोखरा भित्रिएका च्याङ्ग्राहरूलाई विगतका वर्षहरू जस्तै यस वर्ष पनि पोखराको हेम्जा, याम्दी र सिम्पानी क्षेत्रका खुला चौरहरूमा राखेर बिक्री वितरण सुरु गरिएको छ। दसैँका लागि च्याङ्ग्रा छान्न ग्राहकहरू ती स्थानमा पुग्न थालिसकेका छन्। तर, मूल्य बढेको हल्ला चल्न थालेपछि उपभोक्ताहरू भने केही अन्योलमा परेका देखिन्छन्। मूल्य जति नै बढे पनि दसैँको परम्परा धान्नका लागि पोखरेलीहरू च्याङ्ग्रा बजारमा पुग्ने क्रम भने जारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय