काठमाडौं – नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क संकलन गरिने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै विभिन्न चार वर्गका सवारीसाधनका लागि शुल्क निर्धारण गरिएको जनाएको हो। निर्धारित दरअनुसार काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीसाधनले फरक–फरक शुल्क तिर्नुपर्नेछ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मिनीबस, मिनी टिपर तथा मिनी ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।

यसैगरी, मल्टी एक्सल ट्रक, ठूला सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ। आयोजनाका अनुसार सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा टोल शुल्क निर्धारण गरिएको हो। नागढुंगा सुरुङमार्ग काठमाडौं उपत्यकालाई पृथ्वी राजमार्गसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधार आयोजना हो। सुरुङमार्ग सञ्चालनले नागढुंगा क्षेत्रमा हुने सवारी जाम कम गर्न र यात्रालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नागढुंगा सुरुङमार्गको टोल शुल्क दर

आगामी कात्तिक १५ गतेदेखि लागू हुने भनिएको टोल शुल्क दर सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार निम्नानुसार छ।

सवारीसाधनको वर्ग सवारीसाधनको प्रकार काठमाडौं प्रवेश (रु.) काठमाडौंबाट बाहिरिँदा (रु.)
वर्ग १ कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन ६५ ६०
वर्ग २ मिनीबस, मिनी टिपर तथा मिनी ट्रक ११५ ८०
वर्ग ३ बस तथा सिंगल रियर एक्सल भएका ट्रक २६० २००
वर्ग ४ मल्टी एक्सल ट्रक तथा भारी सवारीसाधन/उपकरण ६०० २५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय