काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को चीन भ्रमणको तयारीका लागि चीनले कूटनीतिक पहल तीव्र बनाएको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सरकारका उच्च अधिकारी तथा मन्त्रीहरूसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको वातावरण बनाउन छलफल अघि बढाउनुभएको छ। चिनियाँ राजदूत माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूसँग प्रधानमन्त्री शाहको चीन भ्रमणका विषयमा छलफल गर्नुभएको बताइएको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीन प्रधानमन्त्री शाहलाई छिट्टै बेइजिङ भ्रमण गराउने पक्षमा देखिएको छ। यस विषयमा परराष्ट्र मन्त्रालयमा पनि प्रारम्भिक तयारी र छलफल सुरु भएको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै चीनले शाहलाई भ्रमणको निमन्त्रणा दिएको थियो। तर प्रधानमन्त्री शाहले पहिलो एक वर्ष कुनै पनि विदेश भ्रमण नगर्ने धारणा राखेपछि त्यसबेला भ्रमणको तयारी अघि बढ्न सकेको थिएन। अहिले भने चीनले पुनः भ्रमणका लागि कूटनीतिक पहल थालेको हो।
बीआरआई कार्यान्वयनमा चीनको चासो
प्रधानमन्त्री शाहको सम्भावित चीन भ्रमणमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) चीनको प्रमुख चासोको विषय हुने देखिएको छ। नेपाल र चीनबीच बीआरआईअन्तर्गत सहकार्यका लागि यसअघि विभिन्न समझदारी भए पनि कार्यान्वयनको विषयले अपेक्षित गति लिन सकेको छैन। चीनले नेपालमा पूर्वाधार, सडक, ऊर्जा, व्यापार तथा अन्तरदेशीय सम्पर्क विस्तारका परियोजनालाई बीआरआईमार्फत अघि बढाउन चाहेको छ। तर वर्तमान सरकारले बीआरआई कार्यान्वयनका विषयमा स्पष्ट प्राथमिकता सार्वजनिक गरिसकेको छैन। यसअघि पनि चिनियाँ पक्षले विभिन्न माध्यमबाट बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन नेपाल सरकारसँग चासो व्यक्त गर्दै आएको थियो। पछिल्लो समय प्रधानमन्त्री शाहको भ्रमणलाई समेत चीनले यस विषयमा उच्चस्तरीय छलफल गर्ने अवसरका रूपमा लिन खोजेको देखिन्छ।



रास्वपाका सांसद पनि चीन भ्रमणमा
यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसद चीन भ्रमणमा छन्। उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
चीन भ्रमणमा रहेका सांसदहरूलाई प्रधानमन्त्री शाहले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल गर्न निर्देशन दिनुभएको थियो। बीआरआई, चिनियाँ सहयोगमा सञ्चालित परियोजना, पर्यटन, आर्थिक सहकार्य र विगतका द्विपक्षीय सम्झौताको कार्यान्वयनबारे छलफल गर्न पनि उहाँले सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीले बीआरआईबारे नेपालमा विभिन्न बहस र विवाद रहेकाले त्यसबाट मुलुकले कसरी लाभ लिन सक्छ भन्ने विषयमा स्पष्ट बुझेर अघि बढ्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो।
भारत भ्रमणसँगै चीनको चासो
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेका बेला चीनले पनि उहाँको बेइजिङ भ्रमणका लागि पहल गर्नुले नेपालको कूटनीतिक सक्रियता थप चासोको विषय बनेको छ। नेपालका लागि भारत र चीन दुवै महत्त्वपूर्ण छिमेकी तथा विकास साझेदार हुन्। व्यापार, पारवहन, ऊर्जा र रोजगारीका दृष्टिले भारतसँग नेपालको निकट सम्बन्ध छ भने पूर्वाधार, लगानी र उत्तरी नाका विस्तारमा चीनसँग सहकार्य हुँदै आएको छ। दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्नु नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण पक्ष रहँदै आएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै देशसँग सहकार्य अघि बढाउने चुनौती सामना गरिरहेको छ। यद्यपि, प्रधानमन्त्री शाहको चीन भ्रमणको मिति, औपचारिक कार्यतालिका र भ्रमणका क्रममा हुने सम्झौताबारे अहिलेसम्म आधिकारिक घोषणा भएको छैन। चीनको पछिल्लो कूटनीतिक सक्रियताले भ्रमणको तयारी अघि बढेको संकेत गरे पनि बीआरआईलगायतका विषयमा नेपाल सरकारले कस्तो धारणा राख्छ भन्ने विषय भने स्पष्ट हुन बाँकी छ।



