म्याग्दी – गत असोजमा कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षति पुगेको म्याग्दीको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ। आइएमई ग्रुपको लगानीमा अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको ६६.३ मेगावाट क्षमताको आयोजनालाई बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्दै निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको हो। आयोजनाको पछिल्लो निर्माण अवस्थाबारे जानकारी लिन आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थलगत अवलोकन तथा अनुगमन गरेका छन्। अनुगमनका क्रममा बाढीले पुर्याएको क्षति, पुनर्निर्माणको अवस्था र बाँकी निर्माण कार्यको प्रगतिबारे जानकारी लिइएको थियो।
गत असोज १० र ११ गते कालीगण्डकी नदीमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण निर्माणाधीन संरचनाको पुनर्निर्माण गर्नुपर्ने भएपछि आयोजनाको निर्माण अवधि लम्बिने र लागत बढ्ने चिन्ता उत्पन्न भएको थियो। तर, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै अन्य निर्माण कार्यलाई पनि तीव्र गतिमा अघि बढाइएको लगानीकर्ता पक्षले जनाएको छ। आयोजनाको अनुगमनपछि अध्यक्ष ढकालले प्राकृतिक विपत्तिका कारण चुनौती थपिए पनि निर्धारित समयमै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको बताएका छन्। उनले कुनै पनि परियोजना निर्धारित समय, गुणस्तर र लागतभित्र सम्पन्न हुनुपर्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै यसपटक बाढीका कारण लागत केही बढ्ने अवस्था देखिए पनि समय र गुणस्तरमा भने सम्झौता नगरिने स्पष्ट पारेका छन्। बाढीका कारण लागत केही बढ्ने अवस्था देखिए पनि समय र गुणस्तरमा कुनै सम्झौता गरिने छैन,उनको भनाइ छ। आयोजना निर्माणमा खटिएका प्राविधिक, कर्मचारी, कामदार तथा व्यवस्थापन टोलीको निरन्तर मेहनतले चुनौतीपूर्ण परिस्थितिमा पनि कामलाई अगाडि बढाउन सहयोग पुगेको उनले बताएका छन्। दिनरात नभनी निर्माणमा खटिएका सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गर्दै उनले निर्धारित समयमै आयोजना सम्पन्न गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता दोहोर्याएका छन्।



१२ अर्ब ९३ करोड रुपैयाँ लागतको आयोजना
मध्य कालीगण्डकी जलविद्युत आयोजना आईएमई ग्रुपअन्तर्गतको हाइड्रो सपोर्ट प्रालिले प्रवर्द्धन गरेको परियोजना हो। आयोजनाको सार्वजनिक वित्तीय विवरणअनुसार यसको क्षमता ६६.३ मेगावाट र निर्माण अवधिको ब्याजबाहेक अनुमानित लागत १२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। आयोजनामा कुल लगानीको ७५ प्रतिशत बैंक ऋण र २५ प्रतिशत स्वपुँजीमार्फत जुटाउने व्यवस्था गरिएको छ। वित्तीय व्यवस्थापनका लागि नबिल बैंकको अगुवाइमा एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक सहभागी भएका छन्। आयोजनाको निर्माण सन् २०२४ बाट सुरु गरी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
राष्ट्रिय विद्युत् प्रणालीमा थपिने ऊर्जा
मध्य कालीगण्डकी जलविद्युत आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेख्य परिमाणमा विद्युत् थपिने अपेक्षा गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको दानास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ। कालीगण्डकी नदीमा आधारित यस आयोजनाले विद्युत् उत्पादनसँगै म्याग्दीको स्थानीय आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र पूर्वाधार विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्राकृतिक विपत्तिका कारण निर्माणमा चुनौती थपिए पनि लगानीकर्ता पक्षले समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। अब बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण र बाँकी निर्माण कार्यले कति गति लिन्छ भन्ने विषयले आयोजनाको निर्धारित समयसीमा तय गर्नेछ।



