बागमती प्रदेश सरकारले आइतबार पुनः मन्त्रिपरिषद् विस्तार गर्यो । नयाँ मन्त्रीहरुले सोमबार शपथ पनि लिए । नेपाली कांग्रेसबाट चार र एकीकृत समाजवादीबाट दुई मन्त्री गरी ६ जना मन्त्री थपिए । नेपाली कांग्रेसका पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय, मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ लिएका छन् । त्यस्तै एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्
प्रदेश सरकार विस्तार भएसँगै एकीकृत समाजवादीकी नेतृ रमा आलेलाई मन्त्री नबनाएको भन्दै सामाजिक संजाल तातेको छ । त्यसो त नेकपा एसको प्रभाव काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० ख मा कम भएपनि आलेको इमान्दारीता, विकास प्रेम, जनमोह र व्यक्तिगत भेटघाटले उनलाई २०७९ मंसिर ४ को निर्वाचनमा विजयी गरायो ।
काठमाडौं क्षेत्र नम्बर १० (ख) को सतुंगलमा २०७९ कात्तिक २५ गते भएको चुनावी सभामा नेकपा एसका उपाध्यक्ष बेदुराम भुषालले पनि मुक्तकण्ठले आलेको प्रशंसा गर्दै जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिनुभएको थियो । तीनै रमाहरुको मार्केटिङ गर्दै भुसाल अहिले केन्द्रीय सरकारको कृषि मन्त्री भएका छन् । तर, पार्टीमा रमा जस्ताले गरेको योगदान विर्सिएर रमाहरुलाई पाखा लगाउन खोजिएको भन्दै नेकपा एस नेतृत्व पंक्तिको सामाजिक संजालमा तीब्र आलोचना सुरुभएको छ ।




नेतृत्वले रमा आलेजस्ता सांसदलाई पाखा लगाउनु भनेको जनमत दिने मतदातालाई पनि पाखा लगाउनु हो । चुनावी सभामा मन्त्री बनाउने आश्वासन दिने तर पद र कार्यसम्पादनको जिम्मेवारीबाट किनारा लगाएको भन्दै कार्यकर्ता नेतृत्वसँग आक्रोशित भएका छन् ।

त्यसो त सोही चुनावी सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को संघीय निर्वाचनमा उम्मेदवार राजेन्द्रकुमार केसीलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन पनि बाँडेका थिए ।
तर, केसी न त मन्त्री भए न गतिलो जिम्मेवारी नै सम्हाल्न पाए । यद्यपी केसीलाई सार्वजनिक लेखा समितिमा काँग्रेसले जिम्मेवारी दिएर न्याय गरेको भएपनि रमा आलेमाथी एकीकृत समाजवादी पार्टीले अन्याय गरेको र जनभावनालाई कुल्चिएको भन्दै यतिबेला सामाजिक संजाल तात्न पुगेको छ ।



